Logo

लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा



काठमाडौं । लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेको रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीले उनलाई बुधबार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो । जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो । प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई गत २७ भदौमा पक्राउ गरेको थियो ।

श्रेष्ठको पोखरा पृथ्वीचोकस्थित दिया फार्मेसीले प्रतिबन्धित लागुऔषध बेच्ने गरेको एक जना युवकको बयानअनुसार उनलाई प्रहरीले पक्राउ गरेको थियो । ७ असोजमा जिल्ला अदालत कास्कीमा ढाकाकुमारसहित ४ जनालाई प्रतिवादी बनाएर लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । गत ८ असोजमा हेर्दाहेर्दैमा राखिएको मुद्दामा अदालतले बुधबार प्रतिवादीलाई धरौटी माग गर्ने आदेश गरेको हो ।



प्रतिक्रिया दिनुहोस्