Logo

धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने



धरान (सुनसरी), ११ असोज । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९ गते तीन दिनसम्म ब्याडमिन्टन प्रतियोगिता हुने जानकारी दिएको हो ।

आयोजक समितिका संयोजक टङ्कबहादुर लिम्बूका अनुसार प्रतियोगितामा ७७ वटै जिल्लाका दुई सय टिमका छ सय खेलाडी सहभागी हुनेछन् । सुरक्षा निकायका तीन वटा विभागीय टोलीसमेत सहभागी हुने उनले बताए ।

उनले भने, “खेलको माध्यमबाट आपसी भाइचारा, सद्भाव वृद्धि, साथै धरानको खेल र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।” यस्ता प्रतियोगिता हुन नसक्दा युवा प्रतिभा पलायन भई सक्षम खेलाडी उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फका विजयी जोडीलाई एक लाख १५ हजार नगद पुरस्कार, उप विजेताले ५५ हजार र तेस्रो हुने जोडीले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

खुल्ला ‘भेट्रान्स’ ४५ ‘प्लस’, ‘सुपर’ भेट्रान्स ५५ प्लस र ‘लेडिज डबल्स’, ‘मिक्स डबल्स’का विजेताले ६५ हजार, उपविजेताले ३३ हजार र तेस्रो हुनेले ११–११ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक लिम्बूले बताए ।

प्रतियोगितामा राष्ट्रिय ‘रेफ्री’ तथा प्रशिक्षक केदार धिमाल प्रमुख निर्णायक रहने बताइएको छ । टिम दर्ता शुल्क खुल्ला मेन्स डबल, भेट्रान ४५ प्लस, सुपर भेट्रान ५५ प्लसका प्रतियोगीका लागि तीन हजार, मिक्स डबलका लागि दुई हजार पाँच सय र खुल्ला लेडिज डबलका प्रतियोगीका लागि दुई हजार निर्धारण गरिएको धरान ब्याडमिन्टन सङ्घले जनाएको छ ।

खेल प्रतियोगिता धरान उपमहानगरपालिका–१३ अमर सेवा समाजको कभर्ड हलमा हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनमा २२ लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगितामा कोशी प्रदेश खेलकुद परिषदले आठ लाख, धरान उपमहानगरपालिकाले एक लाख ५० हजार, विभिन्न वित्तीय सङ्घसंस्था र प्रायोजकबाट रकम सङ्कलन गरिएको आयोजकले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्