Logo

राज्यसँग दुरदर्शिता र पोलिसी नहुँदा बाढीमा नागरिकले ज्यान गुमाउनुपर्योः उद्धारकर्ता केसी



काठमाडौं, १३ असोज । विगत दुई दिनदेखि परेको अविरल वर्षका कारण देशभरको जनजीवन कष्टकर बन्यो । बाढी, पहिरोसहित मानवीय क्षति भयो । काठमाडौंमा भएको नदी अतिक्रमणका कारण खोला बस्तीमा पस्यो । लामो समयको पर्खाइमा पनि राजधानीमै विपदमा परेकाहरुको उद्धार गर्न सकिएन । काठमाडौं उपत्यकाभित्र नै उद्दारको पर्खाइमा ४८ जनाले ज्यान गुमाउनुपर्यो । देशको राजधानीमा समेत नागरिकको उद्धार गर्न नसक्नु आफैंमा लज्जास्पद थियो ।

यसैक्रममा ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजना बगायो । उनीहरु धेरै जस्ताले बेरिएको टहरामा बसेका थिए । उनीहरुले थाहा पाउँदा वरिपरी बाढीले घेरेर त्यहाँबाट उम्किने उपाय नै थिएन । अन्ततः उनीहरु त्यो टहराको छतमा चढेर गुहार मागे । लामो समय टहराको छतमा बसेर गुहार मागे पनि उनीहरुलाई बचाउन राज्यको संयन्त्रले तदारुकता देखाएन ।

बाढीले टहरा बगायो । अन्ततः गुहार माग्दामाग्दै बगे चार जना । गृहमन्त्री रमेश लेखकले उनीहरुलाई बचाउन नसकिएको भनी दुःख व्यक्त गरे । तर, बाढीले बगाएका चार जनामध्ये दुई जनालाई स्थानीयहरुले उद्दार गरिसकेका थिए । स्थानीयले उद्दार गरेर थप उपचारको लागि पाटन अस्पताल पुर्याएको समेत गृहमन्त्री लेखकले जानकारी पाएनन् । उनले बाढीले बगाएका चारै जनालाई बचाउन नसकिएको घोषणा गरे ।

नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहटका राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो । तीन जनालाई सकुशल उद्धार गर्न सकिए पनि राजकी चार वर्षीय छोरी सेर्तु अझै बेपत्ता छिन् । अविरल वर्षाका कारण उर्र्लिएको भेलमा हाम फालेर उनीहरुको ज्यान बचाउने पात्र हुन् चणिकलाल तामाङ ।

तामाङलाई ललितपुर महानगरपालिका–२५ नख्खुडोल सुगम बस्ती टोलका अध्यक्षसमेत रहेका उद्धारकर्ता पूर्ण केसीले सहयोग गरेका थिए । उनी त्यसबेला तामाङसँगै मिलेर काम गरिरहेका थिए । प्रस्तुत छ पत्रकार ऋषि धमलाले केसीसँग गरेको संवादको सम्पादित अंशः

अविरल वर्ष भएपछि हामी राति साढे ३ बजेदेखि नै अनुगमन र उद्धारमा निस्किएका थियौं । म सुगम बस्ती टोलको अध्यक्ष पनि हुँ । पछि परेको त्यहाँको टोल विकासका लागि भनेर हामीले अलगै टोल बनाएका छौं । विहानसम्म नख्खु करिडोरको सिमाङ्कन गरेको वालहरु छन् । त्यो माथि खोला आएको थियो । साढे पाँच बजेपछि खोला बढ्दै आयो । त्यसपछि हामी टोलबाटै बाहिर निस्कियौं । विहान साढे ६ बजेतिर हामीले त्यो ठाउँ छोडिसकेका थियौं । हामीले त्यो बेलासम्म चार वटा घरको उद्धार गरिसकेका थियौं ।

रमिता हेरेर बस्ने पनि थिए । हामीले त्यो ठाउँबाट अहिले दुई जना बेपत्ता हुनुहुन्छ । तीन जनाको उद्धार गर्यौं । तीन जना उद्धार भएको मध्ये एक जना पौडिएर बाहिर आउनु भएको हो । अरु दुई जना चणिकजीले (चाणिकलाल तामाङ) ले उद्धार निकाल्नुभयो । उद्धारपछि उनीहरुलाई पूर्व डिआईजी अशोक सिंहले पाटन अस्पताल ल्याउनुभयो ।

खोलाको छेउमा अहिले बस्तीहरु टन्नै छन् । सुकुमबासीको नाममा होस्, चाहे सर्वसाधरणको नाममा होस् । राज्यले तोक्नुपर्यो योदेखि यसरी बस्न पाइँदैन भनेर । खोलाको सतह जुन बनाइएको छ, बागमतीदेखि नख्खु करिडोरसम्म । त्यो सतह यतिसम्म माथि आउँछ भनिसकेपछि त्यहीअनुसारको ड्याम बनाउने की ? ढल व्यवस्थापनमा चुकेको छ । दुरदर्शिता छैन । राज्यको पोलिसी सोचेर बनाउन पर्दैन ?

यो पनि पढ्नुहोस्ः ललितपुरको नख्खु खोलाले बगाएका तीन जनाको उद्धार, एक अझै बेपत्ता



प्रतिक्रिया दिनुहोस्