Logo

श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार



धरान (सुनसरी), १३ असोज । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ ।

बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

शनिबार बिहानदेखि उनीहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीेसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसका कारण शनिबार उनीहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए ।

नगरप्रमुख कार्कीले भने, “शुक्रबारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उहाँहरु निस्कन नसकेर श्रीलङ्का टापु ठाकुरवारी क्षेत्रमा अलपत्र परेको थियो ।” आज कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुसल उद्धार गरिएको उनले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्