काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वप्रसिद्ध बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरमा दर्शन गरेका छन्। उपनिर्वाचनको क्रममा मधेश प्रदेशको विभिन्न जिल्लामा निर्वाचनलक्षित घरदैलो कार्यक्रममा सहभागी हुन मधेश छिरेका महामन्त्री शर्माले आज विहान माता गढीमाईको दर्शन गरेका हुन्।
गढीमाई दर्शन गरेपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले पाँच वर्षपछि लाग्न थालेको गढीमाई मेलाको क्रममा माता गढीमाईको दर्शन गर्न पाउँदा आफू निकै गौरवान्वित र खुसी भएको प्रतिक्रिया दिए ।
विश्वमै चर्चित एवं पवित्र धार्मिक स्थलको रूपमा रहेको बरियारपुरको गढीमाई माताको दर्शन गर्ने सौभाग्य प्राप्त हुनु आफैंमा निकै खुशीको क्षण भएको उनले बताए । गढीमाई माताको आशीर्वाद सबैलाई प्राप्त भइ सबैको कल्याण गरून् भनी उनले कामना गरे ।
पाँच वर्षपछि लाग्ने धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको विश्व प्रख्यात बरियारपुरको गढीमाई मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन उनले मेला समितिसहित सबै पक्षलाई आग्रह गरे ।
गढीमाई दर्शन गरेका कांग्रेस महामन्त्री शर्मा आज रौतहट स्थित उपनिर्वाचनलक्षित कार्यक्रममा सहभागी हुने कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
महामन्त्री शर्माले उपनिर्वाचन हुन् लागेको रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढ़ीमाई नगरपालिका–८ मा आजै पार्टीको घरदैलो कार्यक्रममा सहभागी हुने प्रचार विभाग प्रमुख गुप्ताले बताए।