Logo

धनराजको चुनौतिः करोड र लाखको कुरा छोडौं, सहकारी अपचलनको १ रुपैयाँ म कहाँ आएको पुष्टि गर्नुस् (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका उससभापति धनराज गुरुङले मितेरी सहकारी अपचलनमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले करोड र लाख नभएर १ रुपैयाँ पनि सहकारी ठगीको पैसा आफूले प्रयोग नगरेको र आफूकहाँ नआएको बताएका हुन् । उनले आफूमाथि षड्यन्त्र गरेर मिथ्या आरोप लगाइएको दाबी गरे । तथ्य र प्रमाणले १ रुपैयाँ पनि आफ्नो नाममा सहकारी ठगीको पैसा आएको पुष्टि भएको खण्डमा सजाय भोग्न तयार रहेको उनको भनाइ छ ।

‘तथ्य र प्रमाणको आधारमा म कहाँ १ रुपैयाँ पनि आएको देखाउनुपर्यो नि त । करोड र लाखको त कुरै छोड्दिनुस् । १ रुपैयाँ मितेरीको अपचलनको पैसा म कहाँ आएको देखाउनुपर्यो नि त । जसलाई जे आरोप लगाइदिए पनि हुन्छ ? म माथि प्रहार गर्न ठूलै षड्यन्त्र भयो भन्ने मलाई लाग्छ,’– उनले भने ।

सहकारी ठगीमा मुछेर आफूले नखाएको विष पनि जबरजस्ती खुवाउने काम भइरहेको उनले बताए । ‘मितेरीसँगको तपाईको साइनो के हो त ?’ भन्ने प्रश्नमा उनले भने, ‘जसरी ममाथि मिथ्या आरोप लगाउने काम भयो । षड्यन्त्र भयो भन्ने मलाई लाग्छ । मितेरीसँगको साइने भनेको मितेरी सहकारी संस्था मेरी तत्कालीन श्रीमती त्यहाँ काम गर्थिन् । अब त्यहाँ काम गरेको कुरा म तत्कालीन श्रीमानको हैसियतले मलाई बरबुजारत गर्ने कुरा त हुन्न नि त । अफिसमा के भइरहेको छ, कसो भइरहेको छ ? म त देश दौडाह गर्ने मान्छे । उहाँले मितेरीमा केही अपचलन भयो २०७५÷०७६ तिर भन्ने कुरा आयो । अहिले जुन कुरा आइरहेको छ नि, त्यसमा जबरजस्त ढंगबाट धनराज गुरुङलाई पनि मुछेर नखाएको विष पनि खुवाइदिनुपर्छ भनेर ठगको आरोप लगाए ।’

साथै, सहकारी ठगी प्रकरणमा रवि समातिएपछि धनराजलाई किन छाडेको भन्ने प्रश्न पनि उठिरहेको उनले बताए । ज्योति गुरुङ आफ्नी पूर्व श्रीमती रहेको बताउँदै उनले मितेरी सहकारी ठगी प्रकरणमा अहिले आफ्नै स्ट्याटस निकिता पौडेलको बराबर रहेको बताए । उनले रवि लामिछानेलाई पक्राउ गरिएपनि उनकी श्रीमतीलाई त्यस आरोपमा मुछ्न नमिल्ने बताउँदै आफूमाथि अन्याय भइरहेको बताए । ‘धनराज गुरुङ र रविलाई एकै घानमा हाल्नुपर्छ भन्नेले निकितालाई पनि एकै घानमा हाल्नुपर्छ किन नभनेको त्यसो भए ? यहाँ एकदमै पूर्वाग्रह देखियो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्