भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा विकास गर्नुपनेमा जोड दिएकी छन् । आज सानोथिमिमा आयोजित विश्वविद्यालय अनुदान आयोगको ३१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले उच्च शिक्षा सुधारको दायित्व विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूको भएको बताइन् ।
उनले भनिन्, “देशलाई आत्मनिर्भर बनाएर अर्थतन्त्रलाई वृद्धि गर्नुपर्ने आजको आवश्यकता हो । उद्यमशीलतालाई जोड दिएर नवप्रवर्तन र वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा निर्माण गर्नुपर्ने दायित्व विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूको हो । अबको उच्च शिक्षा नीति त्यसैमा केन्द्रित हुनुपर्छ ।”
उच्च शिक्षा सञ्चालन गर्ने संस्थाहरूलाई संविधानको मर्मअनुसार समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिँदै शिक्षामन्त्री भट्टराईले आजको विश्वव्यापीकरणको दुनियाँमा देशलाई अविकसित र कमजोर राज्य ठान्ने मानसिकता त्याग्नुपर्ने बताइन् ।
शिक्षामन्त्री भट्टराईले विश्वविद्यालय सुधार र आर्थिक परनिर्भर अन्त्य गर्दै युवा पलायन रोक्नुपर्ने धारणा राखिन् । पुरानै शिक्षा ऐनअनुसार देशको शिक्षा नीति सञ्चालन भइरहेको केही समस्या रहेका र नीतिगत तहमा रहेका अप्ठ्याराको पहिचान गरी त्यसलाई फुकाउँदै जानुपर्ने उनको भनाइ थियो । “सरकार र सरोकार भएका सबैले देशमै बसेरै केही गर्छु भन्ने जनशक्तिलाई बढी जिम्मेवार भएर सहयोग गर्नुपर्छ । नेपालमै केही गर्छु भन्नेलाई प्रोत्साहित गरिनुपर्छ । विदेश पलायन हुने युवालाई यही केही गर्न दिनुपर्छ”, शिक्षामन्त्री भट्टराईले भनिन् ।
शैक्षिक ‘क्यालेण्डर’को सबैले पालना गर्नुपर्नेमा जोड दिँदै उनले क्यालेण्डर पालना नगर्ने छुट कुनै पनि विश्वविद्यालयलाई नभएको बताइन् । मन्त्री भट्टराईले भनिन्, “नेपालमा शैक्षिक क्यालेण्डर अवरुद्ध हुँदा समयमै उच्च शिक्षाको पढाइ सकिँदैन र पढ्दापढ्दै जिन्दगी बित्छ भन्ने युवा मतलाई चिर्नुपर्छ । त्यसका लागि आयोगले नियमित अनुगमन, सम्पर्क र समन्वय गर्नुपर्छ ।”
कार्यक्रममा आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले उच्च शिक्षाका लागि नेपाली विद्यार्थी र ठूलो धनराशि बाहिरिने गरेकाले यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गरे ।
शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्ले, आयोगका सदस्यसचिव प्रा शङ्करप्रसाद भण्डारी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, आयोगका पूर्वअध्यक्ष प्रा डा कृष्णबहादुर थापा, प्रा डा पराशर कोइराला, प्रा विदुर उपाध्याय, आयोगका पहिलो सदस्यसचिव प्रा डा होमनाथ भट्टराईलगायतले नेपालको उच्च शिक्षाका सन्दर्भमा उठेका प्रश्नका जवाफ आयोग र विश्वविद्यालयहरूले दिन सक्नुपर्ने बताए ।
त्यस अवसरमा उत्कृष्ट कर्मचारी र वार्षिकोत्सवका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कृत गरिएको आयोगका उपनिर्देशक देवेन्द्र रावलले जानकारी दिए ।