काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका सम शाक्यले पुराना राजनीतिक दलहरुले गरेको फोहोर सफा पार्न आफूले उम्मेदवारी दिएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै शाक्यले आफ्नो उम्मेदवारी किन भन्नेबारे जानकारी गराएका हुन् ।
‘यो स्थानीय चुनाव हो । स्थानीय चुनाव भनेको हाम्रो टोल बन्यो भने वडाको विकास हुनेछ । वडा हुँदै क्षेत्रको विकास भएमा मात्र देशको विकास हुन्छ । त्यसकारण मैले यो उपनिर्वाचनलाई विशेषरुपमा लिएरस्वतन्त्र उम्मेदवारी दिएको छु । मलाई धेरै जनाले सोधिरहनुभएको छ । तपाईको स्वतन्त्र उम्मेदवारी किन भन्दै ?’ उनले भने ‘मेरो उम्मेदवारीको मुख्य कारण भनेको हाम्रो देश परापूर्वकालदेखि नै स्वतन्त्र देश हो । नेपाल कहिल्यैपनि उपनिवेश थिएन । तर, अहिले हाम्रो देश अन्य देशबाट नभएर राजनीतिक दलबाट उपनिवेश भइरहेको छ । प्रत्येक राजनीतिक दलले नेपाललाई उपविशेको रुपमा राख्दै आइरहेका छन्’ ।
शाक्यले पार्टीको झण्डा बोकेर पटक पटक भोट हालेपनि देशको अवस्था नबदलिएको हुँदानै आफू मैदानमा आउनु परेको जिकिर गरे । उनले काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिँदै आफूले चुनाव जितेमा बालेन शाहसँग मिलेर काम गर्ने बताए ‘अहिले हाम्रो काठमाडौं महानगरपालिकाको मेयर पनि स्वतन्त्र नै हुनुहुन्छ । उहाँलाई पार्टीगत रुपमा कुनै प्रेसन नभोगेर राम्रो काम गरिरहनुभएको छ । भोलि म निर्वाचित भएमा उहाँसँग मिलेर सहकार्य गर्न सकिन्छ । हामी दुवै युवा हौं । मैले आर्थिक क्षेत्रमा पनि निक्कै काम गरेको छु । आर्थिक रुपमा ठूला ठूला संगठनमा बसेर काम गरेको छु’ उनले भने ।
उनले जनतामा सचेतना जागेको भन्दै आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् । ‘युवापुस्ता लागेका छन् । पटक पटक राजनीतिक दल राजनीतिक दलभन्दा भन्दै जनताहरु वाक्क भइसकेका छन् । तर,स्वतन्त्र भएर काम गर्न दिएनन् । अब नयाँ व्यक्तिलाई मत दियो भने देश बन्छ भन्ने आश छ । बालेनजीले एक्लै काम गरिरहुन भएको छ । सिंगो सरकार उहाँसँग जोरी खोज्दा पनि उहाँले स्वतन्त्रढंगबाट काम गरिरहनु भएको छ । स्वतन्त्र व्यक्तिले गरेको काम देखेर जनताले विश्वास गर्नेछन् । यसपटक मलाई निर्वाचित गराउनेमा म ढुक्क छु । जनता सचेत भइसकेका छन् । अब पुरानो पार्टीको आश्वासनबाट देश बन्दैन । उनीहरुलाई भोट दिन हुँदैन भन्ने जानेर नै मलाई मत दिनेछन्’ उनले भने ।
आगामी मंसिर १६ गते काठमाडौं १६ सहित ४१ पदमा उपनिर्वाचन हुँदैछ । काठमाडौं १६ बाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्षका लागि १९ जना मैदानमा छन् । अघिल्लो पटक कांग्रेसले जितेको सो वडामा यसपटक पनि कांग्रेसले जित निकाल्ने लक्ष्यसहित देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ । यता सत्तारुढ एमालेले लक्ष्मीरत्न तुलाधरलाई टिकट दिँदा माओवादी केन्द्रले समर्थन गरेपछि एकीकृत समाजवादीबाट मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ । रास्वपाले रजनी श्रेष्ठलाई उम्मेदवार बनाउँदा शाक्यसहित स्वतन्त्रबाट ८ जना उम्मेदवार छन् ।
२७ वर्षका अन्जन श्रेष्ठ, २८ वर्षे किसान श्रेष्ठको पनि उम्मेदवारी परेको छ। यसैगरी, ३२ वर्षे हिराप्रसाद सेती, ३५ वर्षका प्रकाश पन्त, ४२ का देवेन्द्र कुमार श्रेष्ठ, ४१ वर्षका रमेश बलामी, ४९ वर्षे विक्रम चित्रकार, ४४ वर्षे सम शाक्य र ५१ वर्षे सूर्यबहादुर बैदारले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। ६१ वर्षका पशुपति कठायतको पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।