Logo

सहकारी ठगी प्रकरण: सरकारी वकिलको कार्यालय काठमाडौँमा रविको बयान सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे उनीसँग बयान सुरु भएको हो ।

सरकारी वकिलको रोहबरमा अनुसन्धान अधिकृतले पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग बयान लिइरहेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका रविलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्न पोखराबाट बिहीबार बेलुका यहाँ ल्याइएको हो।

सोही प्रकरणमा यसअघि पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र कुमार रम्तेललाई पनि प्रहरीले काठमाडौँ ल्याएर बयान लिई कास्की (पोखरा) नै फर्कासकेको छ।

उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ । पछिल्लोपटक कास्की अदालतले लामिछानेमाथि म्याद थपका लागि १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने काठमाडौंमा बयान सकिएपछि पोखरा लगेर त्यहाँबाट चितवन लगिनेछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका लामिछानेमाथि साहारा चितवन सहकारीका २४ बचतकर्ताले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्