Logo

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख



तनहुँ, १४ मङ्सिर । बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो ।

मन्दिर निर्माणका लागि ३० लाख आवश्यक पर्ने उनले बताए । बन्दीपुर गाउँपालिकाले भने चार लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । अर्थ सङ्कलनमा सहयोग जुटाउने अभियानमा मन्दिर पुनर्निर्माण समिति र सल्लाहकार समितिका पदाधिकारी जुटेका छन् ।

हरेक वर्ष यो मन्दिरमा शारदीय अष्टमीको र चैत्राष्टमीका दिनमा मेला लाग्ने गर्छ । औँसी र एकादशी दिनबाहेक अन्य दिन नित्य पूजा हुने गरेको छ । विसं २०३२ मा स्थानीय सन्तबहादुर थापाको अगुवाइमा मन्दिर निर्माण भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्