Logo

नाउपा लोग्ने–स्वास्नीको झगडाले सक्कियो, सिके राउत बरालिए : मुमाराम खनाल



काठमाडौं, १४ मंसिर । राजनीतिक विश्लेषक मुमाराम खनालले नागरिक उन्मुक्ति पार्टी लोग्ने–स्वास्नीको झगडामा पार्टी नै सक्किएको टिप्पणी गरेका छन् । उनले अहिले नाउपाको कुनै क्रेज नै नभएको दाबी गरे । उनले नाउपा नै रेशम चौधरीलाई जेलबाट छुटाउने उद्देश्यले बनेको पार्टी भएकोले अहिले रेशम छुटेपछि त्यसको औचित्य समाप्त भएको दाबी गरे ।

हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रवि लामिछाने नेतृत्वको रास्वपाभित्र नेताहरुमा एकसे एक महत्वकांक्षामात्रै हाबी रहेको टिप्पणी गरे । उनले सिके राउतलाई पनि बरालिएको नेताको संज्ञा दिए । उनले भने,‘त्यो पार्टीको नेतृत्वपनि बरालिएको छ । त्यसले राजनीतिक कुरा गर्नै छाडिदिएको छ । राजनीतिभन्दा बाँकी अरु कुरा गर्न थालेको छ ।’

वर्तमान कांग्रेस–एमालेको संयुक्त सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले सफलताको मानक नै सरकार एक महिनापनि ढलेन, दुई महिनापनि ढलेन, तीन महिनापनि ढलेन, अब चुनावसम्मै यो सरकार जान्छ भन्नेलाई नै सफलताको रुपमा परिभाषित गरियो । तर, सफलताको कुरा त्यो थिएन । हाम्रो पहिलो कुरा के थियो भन्दा पहिलो सुशासनको कुरा थियो, दोस्रो कुरा संविधान संशोधनको थियो, तेस्रो कुरा सेवा प्रवाहको थियो । यसमा अलिकति भएपनि आशा थियो, धेरै त आशा थिएन । कांग्रेस, एमालेका यिनै नेता हुन्, देखिरहेकै मान्छे हुन् । देखिरहेकै अनुहार हो । यिनले केही धेरै गर्छन भन्ने थिएन । तर, दुई तिहाई भएपछि सरकार ढल्छ भन्ने त्राहीत्राहीबाट मुक्त भएका थिए । केही काम त देखिनेगरि गर्नुपर्ने हो । ओलीलाई पनि हिजोको त्यो च्यालेञ्ज थियो । तर, अब झन् चाहीँ यो सरकार आईसकेपछि हिजोकै त्यो पुष्पकमल दाहालको सरकार जतिपनि देखिने गरेर यो चाहीँ अगाडि आउन सकेको छैन् । दाहाललाई अलिकति केही देखाउने तत्परता थियो ।’

उनले असफल प्रधानमन्त्री हुने व्यवस्थामा मन्त्रीहरु कहिल्यैपनि सफल नहुने भन्दै अहिलेको अवस्था त्यस्तै रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्