काठमाडौं । अस्पतालको वार्डमै पुगेर बिरामीलाई औषधि किन्न दवाव दिने बिचौलियाहरु सक्रिय बनेपछि वीर अस्पतालमा औषत्रि पसलेलाई प्रवेश निषेध गरिएको छ । बिरामीलाई औषधि किन्न दवाव दिएको भन्दै अस्पताल प्रशासनले बिचौलियालाई प्रवेशमा निषेध गरेको हो ।
बिहीबार अस्पताल प्रशासनले एक सूचना टाँस गर्दै अस्पताल वरिपरि संचालनमा रहेका औषधि पसलहरूबाट विरामीहरूको बेड बेडमा गई औषधि पसलको नाम र ठेगाना सहितको कार्डहरू वितरण गर्ने गरिएको पाईएकाले सचेत रहनसमेत प्रशासनले आग्रह गरेको छ ।
‘अस्पतालमा भर्ना भएका बिरामीहरुलाई औषधी तथा औषधिजन्य सामानहरु खरिद गर्न आउनु भनि यस अस्पताल वरिपरि संचालनमा रहेका औषधी पसलहरूबाट बिरामीहरुको बेड(बेडमा गई औषधि पसलको नाम र ठेगानासहितको कार्डहरू वितरण गर्ने गरिएको बिरामीहरूबाट जानकारी हुन आएकोले त्यस्ता व्यक्तिहरुलाई अस्पतालभित्र प्रवेश निषेध गरिएको छ।’, अस्पताल प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्ता व्यक्तिहरु अस्पताल प्रवेश गरेको पाइएमा त्यस व्यक्तिहरु अस्पतालका सुरक्षा गार्ड तथा प्रहरीलाई सूचना गरी कानुनी कारबाहीका लागि सहयोग गर्न समेत वीर अस्पताल प्रशासनले सबैमा अनुरोध गरेको छ।
वीर अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी), इमर्जेन्सी तथा अन्तरङ्ग सेवा (भर्ना भएका) का बिरामीहरुको लागि औषधि तथा औषधिजन्य सामनहरू अस्पतालमा सञ्चालित फार्मेसीबाट उपलब्ध हुने भएकाले वीर अस्पतालको फार्मेसीबाट खरिद गर्न पनि अस्पताल प्रशासनले अनुरोध गरेको छ ।
स्वास्थ्य वीमामा आवद्ध तथा अन्य विरामीहरूलाई निश्चित ब्राण्ड वा कम्पनी तोकी औषधि तथा औषधिजन्य सामग्रीहरू सिफारिस नगर्न र अस्पताल फार्मेसीबाट उपलब्ध गराइएका औषधिजन्य सामग्रीहरू ब्राण्ड वाकम्पनी नमिलेको आधारमा फिर्ता नगर्न नगराउन पनि अस्पतालले अनुरोध गरेको छ ।