Logo

पोखराबासीले आजदेखि सिधै धाराबाट आउने शुद्ध खानेपानी पिउन पाउने छन: मन्त्री यादव



पोखरा,१४ मङ्सिर । खानेपानीमन्त्री प्रदीप यादवले पर्यटकिय नगरी पोखराबासीले आजदेखि सिधै धाराबाट आउने शुद्ध खानेपानी पिउन पाउने बताएका छन् ।

आज पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थान अन्तर्गत सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरुको उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । उनले भने “माछापुच्छ्रेको काखबाट शुद्ध खानेपानी पोखरामा ल्याएका छौँ, आजबाट शुद्ध र सुरक्षित खानेपानी बितरण सुरु भएको छ, जुन पानी शुद्ध अनि सफा छ, सिधै धाराबाट पिउन सकिने छ ।”

मन्त्री यादवले यसभन्दा अघि पोखराबासीले वर्षातको समयमा हिलो मिसिएको पानी खानु पर्ने अवस्था रहेकोमा आजका मितिबाट त्यहाँका नागरिकहरुको उक्त पीडा सधा सधाका लागि समाप्त भएको जिकिर गरे । “सरकार पोखराबासीलाई शुद्ध खानेपानी खुवाउनका लागि तयार छ, हामीले मेलम्ची पछिको ठूलो आयोजना सम्पन्न गरी पोखराबासीलाई शुद्ध पानी खुवाउन सफल भएका छौँ । अब पोखराबासीले हिलो मिसिएको पानी खानु पर्ने अवस्था आउने छैन्, आजबाट हिलो मिसिएको पानी धारामा आउँछ भन्ने गुनासो पनि समाप्त भएको छ ” उनले भने ।

आज पानी बितरण गर्नका लागि उद्घाटन गरिएको यस परियोजनाले पोखरा महानगरपालिका क्षेत्रका नागरिकहरुलाई स्वच्छ, सुरक्षित, र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउँदै जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने मन्त्री यादवले बताए । “जापान सरकार र नेपाल सरकारबीचको यो सहकार्यले विकास निर्माणका परियोजनाहरूलाई समयमै सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको छ,” उनले भने, “यसका लागि जापान सरकार जाईकाप्रति हार्दिक आभार व्यक्त गर्दै खानेपानीका क्षेत्रमा थप सुधारका लागि हाम्रो प्रतिबद्धता जारी रहनेछ ।”

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधी, स्थानीयवासीको सहयोग समर्थनमा पोखरामा शुद्ध खानेपानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवले माछापुच्छ्रेबासीलाई धन्यवाद समेत व्यक्त गरे । उनले भने, “अतिथिदेवो भव पोखरा महानगरपालिकाका १९ वडामा रहेका कम्तिमा पनि चार लाख नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउनुभयो, तपाईहरुका समस्याको समाधानका लागि म सहित सिङ्गो मन्त्रालय तयार रहेको छ ।”

पोखरामा खानेपानी आयोजना सम्पन्न गर्नमा सहयोग गर्ने पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य, विभिन्न राजनैतिक दलका प्रतिनिधी, नागरिक समाज, समाजसेवी एवं सम्पूर्ण स्थानीयवासीलाई मन्त्री यादवले धन्यवाद समेत व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्