काठमाडौं, १५ मंसिर । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार लामो अवधि नटिक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई जनताले सडकबाट ढाल्ने दाबी गरेका हुन् ।
उनले जनतामा अहिले चमर निराशा रहेको र त्यो निराशालाई चिर्ने काम प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गर्न नसकेको बताए । यही फागुन महिनादेखि प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध जनताहरु सडकमा आउने उनको दाबी छ । विगतमा राजा ज्ञानेन्द्र, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाटै ढलेझैं ओली नेतृत्वको सरकार पनि ढल्ने उनले बताए ।
‘गठबन्धन लामो जाँदैन । फागुनदेखि सडकबाट सरकार जान्छ । संसद्बाट जाँदैन । शेख हसिनाको सरकार संसद्बाट गएको होईन नि । ज्ञानेन्द्रको सरकार, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरी उपाध्यक्ष भएको सरकार सडकबाट ढलेको हो नि । ४६ सालको राजाको सरकार ढलेको होईन । केपी शर्मा ओली नेतृत्वको सरकार सडकबाटै ढल्छ । सडकमा जनता आउँछन्, आउँछन् । यो मैले गाउँ–गाउँमा देखेको छु कि जनतामा चरम निराशा छ । उहाँले निराशा बढाउने काम गरिरहनु भएको छ,’– उनले भने । File Photo/RN