काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं पार्टीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज रामप्रसाद सापकोटाले कीर्तिपुरमा पुगेर गगन थापाले झुटको खेति गरेको टिप्पणी गरेका छन् । कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले आफ्नो पार्टीको नेताले चुनाव जितेमा कीर्तिपुरका युवाहरुले डाँडामा ल्याप्टप बोकेर बसेर महिनाको ३÷४ लाख कमाउन सक्ने वातावरण बनाउने भनी अभिव्यक्ति दिएका थिए ।
कांग्रेस महामन्त्री थापाको उक्त अभिव्यक्तिमाथि टिप्पणी गर्दै दीपशीखाले ‘आफ्नै निर्वाचन क्षेत्रका अधिकांश भागमा व्यावस्थित ढल नबनाउनेले के खाएर कीर्तिपुर पुगी छटाएको ?’ भनी प्रश्न गरेका छन् ।
‘अहिले नेपाली कांग्रेससँग २ महानगर, २ उपमहानगरसहित २७४ स्थानीय तहको नेतृत्व छ । यसअघि पनि कीर्तिपुर कांग्रेसकै नेतृत्वमा थियो । युवालाई डाँडामा बसेर ल्यापटप बोकेर ३–४ लाख कमाउने अवस्था किन नबनाएको ?’ प्रश्न गर्दै उनले भनेका छन् ।