काठमाडौं, १५ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कीर्तिपुरको चुनावी सभामा हावादारी कुरा गरेको बताएका छन् । कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले आफ्नो पार्टीको नेताले चुनाव जितेमा कीर्तिपुरका युवाहरुले डाँडामा ल्याप्टप बोकेर बसेर महिनाको ३÷४ लाख कमाउन सक्ने वातावरण बनाउने भनी अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिको खण्डण गर्दै वाइसीएल अध्यक्ष शेर्पालीले कांग्रेस महामन्त्री थापालाई उट्पट्याङ आईडिया फुरिरहेको टिप्पणी गरेका हुन् । गगनले गत प्रतिनिधि सभा निर्वाचनमा १८ वर्ष माथिका युवायुवतीलाई रोजेर सामसुङ र आइफोन दिने घोषणा नै गरेको स्मरण गराउँदै शेर्पालीले भनेका छन्, ‘२०७९ को चुनावमा १८ वर्ष माथिका युवायुवतीलाई रोजेर सामसुङ र आइफोन दिने घोषणा गरेका कांग्रेस महामन्त्री दाजुले ०८१ को उपनिर्वाचनमा ल्यापटप बोकेर डाँडाजाने आइडिया दिएछन । कसरी फुर्छ क्या यस्तो बुद्धि ?’
कांग्रेस महामन्त्री थापाको उक्त अभिव्यक्ति अहिले आलोचना र सामाजिक सञ्जालमा ट्रोलको विषय बनिरहेको छ । महामन्त्री थापाको उक्त अभिव्यक्तिमा कांग्रेसकै नेताहरुले समेत आलोचना र टिप्पणी गरिरहेका छन् ।