Logo

प्रधानमन्त्री ओली आफ्ना हुक्के, चिलिमे, ढोकेसहित चीनमा माग्न जाँदैछन्ः विरोध खतिवडा (भिडिओसहित)



काठमाडौं, १६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाले नेपालले अहिले कुनै पनि देशबाट ऋण लिन नहुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले नेपालले चीनबाट मात्रै नभएर कुनै पनि देशको ऋण लिन नहुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिने कि अनुदान भन्ने सन्दर्भमा केन्द्रीत हुँदै उनले भने, ‘कुनै पनि देशबाट १÷२ वर्षको लागि ऋण नलिने भन्ने कुरा हो । अहिले ऋण तिर्न सक्ने स्थिति छैन । नेपाललाई ऋण बढी भयो, नलिने भनेपछि यो ऊ देश भन्ने कुरा नै आउँदैन । विश्व बैंकबाट पनि लिने कुरा आएन ।’

साथै, प्रधानमन्त्री ओलीको चीन भ्रमण धेरै अनुदान पाए सफल र अनुदान नपाए असफल हुने उनको टिप्पणी छ । नेता खतिवडाले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई ‘माग्न हिँडेको मुलुकको भ्रमण’ को संज्ञा दिए । ‘गरिब मुलुक, माग्न हिँडेको मुलुकको भ्रमण हो । धेरै पाए सफल हुन्छ, थोरै पाए असफल । पुरानै ढर्राको भ्रमण हो । पुरानै ढंगको तरिका हो । पुरानै ढंगबाट माग्न नै जाने हो,’– उनले भने ।

प्रधानमन्त्री ओली आफ्ना हुक्के, चिलिमे र ढोकेहरुलाई भ्रमण गराउन चीन जान लागेको उनको टिप्पणी छ । तत्कालीन समयमा जंगबहादुर २ सय जनाको टोलीसहित बेलायत भ्रमणमा गएको स्मरण गराउँदै उनले प्रधानमन्त्रीको यो भ्रमण दल देख्दा चीन पनि दंग पर्ने बताए ।

‘गरिब मुलुक सानो टिम लिएर गएको भए हुन्थ्यो । जंगबहादुर बेलायत गएको जस्तो हुक्के, चिलिमे, ढोकेसहित करिब सय जनाको भ्रमण हुँदैछ । सय जनाको टोलि लिएर एउटा गरिब मुलुक आएको देखेर उनीहरु पनि दंग नै पर्लान्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्