Logo

उपनिर्वाचनको मैझारो: प्रमुख ४ दलबाट २५ जना महिलाले टिकट फुत्काउँदा ७ जनाले चाखे जितको स्वाद



काठमाडौं । गत आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा ७ जनाले विजयी हाँसिल गरेका छन् । आइतबार भएको ४१ पदको उपनिर्वाचनमा ३७७ जना चुनावी मैदानमा थिए । ती मध्ये प्रमुख चार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपागरि कूल २५ जना महिलाले टिकट फुत्काएका थिए । जसमा ७ जनाले जितको स्वाद चाखेका छन् ।

आइतबार भएको उपनिर्वाचनमा निर्वाचन आयोगले प्रमुख पदमा पुरुष निर्वाचित भएका गौरिशंकर, नलगाड, पुथा उत्तरगंगा, सार्केगाड र बाजुराको स्वामि कात्तिक खापर गाउँपालिकाको उपप्रमुखमा अनिवार्य महिला उम्मेदवार हुनपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार सो स्थानीय तहमा भने सबै राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका थिए ।

गत उपनिर्वाचनमा रास्वपाले डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर-६ को अध्यक्षमा जानकी कुमारी खडका (कुँवर) लाई उठाउँदा माओवादीले बाजुराको स्वामीकात्तिक खापरको उपाध्यक्षमा राजुकुमारी विकलाई, नेपाली कांग्रेसले पुलतीसरा शाही र एमालेले शुलोचनाकुमारी भण्डारी बुढालाई उम्मेदवार उठाएको थियो । यता जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा रास्वपाले पार्वती पुन, माओवादीले देवका लामिछाने, एमालेले सुनिता बोहरा र कांग्रेसले इन्द्रा चन्द सिंहलाई उठाएको थियो । हुम्लाको सार्केगाडमा कांग्रेसले सविता बुढा, एमालेले जना शाही, माओवादीले देवकी तिमल्सिना र रास्वपाले बाँचा बुढालाई टिकट दिएको थियो ।

कालिकोटको तिलगुफा नगरपालिका-४ को वडाध्यक्षमा माओवादीले नैसोभा शाहीलाई उम्मेदवार बनाउँदा रुकुम पूर्वको पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीले नरपुरा बुढालाई उठाउँदा एमालेले केशकुमारी तुलाचन नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदवार बनेकी थिइन।

गोरखा नगरपालिका-५ को वडाध्यक्षमा एमालेले दुर्गामाया थापा रानालाई उम्मेदवार बनाउँदा काठमाडौं महानगरपालिका-१६ मा रास्वपाले रजनी श्रेष्ठलाई उठाएको थियो । दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेले उमा लुंगेलीमगर शेर्पालाई टिकट दिँदा माओवादीले निमलेकी शेर्पा, कांग्रेसले पासाडीकी शेर्पा र रास्वपाले गोमा श्रेष्ठलाई उठाएको थियो ।

रौतहटको गडीमाई नगरपालिका-८ को वडाध्यक्षमा एमालेले जीउतीदेवी यादवलाई उम्मेदवार बनाउँदा महात्तरीको रामगोपालपुर नगरपालिका-२ मा माओवादीले आईतीदेवी यादवलाई टिकट दियो भने सप्तरीको डाक्नेश्वरी-१ को अध्यक्षमा कांग्रेसले भुलीयादेवी थरुनीलाई उम्मेदवार बनाएको थियो । यता कोशी प्रदेश अन्तर्गत ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ मा एमालेले कुमारी सावादेनलाई उम्मेदवार बनाएको थियो ।

प्रमुख चार राजनीतिक दलहरुले २५ जनालाई टिकट दिएपनि काठमाडौं-१६ मा रास्वपाबाट उम्मेदवार बनेकी रजिना श्रेष्ठले जित निकाल्न सफल भइन् । उनले एमालेबाट उम्मेदवार बनेका लक्ष्मीरत्न तुलाधरलाई पाखा लगाउँदै निर्वाचित भएकी छन् । त्यस्तै एमालेबाट गौरिशंकरको उपाध्यक्षमा उमा लुंगेली शेर्पाले जित निकाल्दा एमालेबाटै उम्मेदवार बनेकी सुलोचना भण्डारी बुढाले बाजुराको स्वामीकात्तिक खापरको उपाध्यक्ष जितिन । सुलोचनाले दोस्रो प्रयासमा जितको स्वाद चाखेकी हुन् ।

उता जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादीबाट उम्मेदवार बनेकी देवका लामिछानेले जित निकाल्दा माओवादीबाटै रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नरपुरा बुढा र हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्षमा देविका तिम्लिसिना निर्वाचित भए । पुथाउत्तरगंगा, गौरिशंकर, नलगाड र सर्केगाडमा अन्य सबै उम्मेदवार महिला नै थिए । पालिका प्रमुखमा पुरुष निर्वाचित भएको स्थानमा महिला उम्मेदवार उठाउनै पर्ने निर्वाचन आयोगको बाध्यकारी निर्णयपछि ती स्थानमा सबै दलले महिलालाई टिकट दिएका छन् ।

उता ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ ले पनि यसपटक महिला वडाध्यक्ष पाएको छ । तत्कालीन वडाध्यक्ष वैदेशिक रोजगारीमा गएर रिक्त् भएको वडामा एमालेबाट उम्मेदवार बनेकी कुमारी सावादेन दोस्रो प्रयासमा सफल भएकी छन् । ०७९ सालको निर्वाचनमा ३ मतले पराजय भोगकी सावादेनले यसपटक १०२ मतको अन्तरले चुनाव जितेकी छन् । उनी ताप्लेजुङ जिल्लाभरको एक्ली महिला वडाध्यक्षसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्