Logo

प्रधानमन्त्री ओलीले चीनसँग गरेको सहमति कार्यान्वयन गर्न लायक छैनः माओवादी नेता दाहाल



काठमाडौं, २१ मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारसँग गरेको सम्झौता कार्यान्वयन गर्न लायक नरहेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा कुराकानी गर्दै उनले ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्न लायक नरहेको र चीनले कार्यान्वयन पनि नगराउने बताएका हुन् ।

एमसीसी परियोजना १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्बाटै पारित गरेर स्वीकार गरेको स्मरण गराउँदै उनले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स जबरजस्ती लागू गर्न खोजिएको बताए । ‘बीआरआई परियोजनाअन्तर्गका केही समस्याहरु छन् भने आम बहसको विषय बनाएर संसद्मा प्रवेश गराएर पारित गराएर औपचारिक ढंगले हुनुपर्थ्यो । जबरजस्ती गरियो । अहिले भएको सहमति कार्यान्वयन गर्न लायक छैन । यो सहमतिलाई चीनले कार्यान्वयनको प्रक्रियामा लैजाँदा पनि लैजाँदैन,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीको चीन भ्रमण हार्दिक बन्न नसकेको उनको दाबी छ । नेता दाहालले औद्योगिक पुँजी विकास गर्न, बृहत रोजगारी सिर्जना गर्न, आयात घटाउन, निर्यात बढाउन उत्पादन र रोजगारी सिर्जना गर्न वैदेशिक ऋण लिनु स्वभाविक भएपनि भ्यूव टावर बनाउन ऋण लिन नसकिने बताए । उनले १ अर्ब ५६ करोड ऋण लिएर झापामा ओलीले भ्यूव टावर बनाएर अनुत्पादक क्षेत्रमा लगानी बढाएको आरोप लगाए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्