काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले रवि लामिछानेमाथि अनुसन्धानको नाममा ज्यादती गरेको आरोप लगाएका छन् । हिजो (मंगलबार) तनहुँमा आयोजित पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै पुनले रास्वपालाई तर्साउनको लागि सरकारले लामिछानेलाई एक जिल्लाबाट अर्को जिल्लामा घुमाउने काम गरेको पनि टिप्पणी गरे । उनले चितवनबाट कास्की मध्यराति लगिएको विषयमा पनि सरकारको आलोचना गरे ।
उनले भने,‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । तर, कहिले पोखरा, कहिले भैरहवा, कहिले काठमाडौं, चितवन र कहिले पर्सा हिंडाएको हिँडायै किन गरिएको छ? के अरु प्रतिपक्षी दललाई पनि तर्साउन खोजिएको हो ?, राज्यको नियन्त्रणमा रहेको व्यक्तिबाट सरकारले के खतरा देख्यो मध्यरातमा उठाएर मौलिक अधिकार, मानव अधिकार, र सामान्य प्रक्रिया पनि पुरा नगरी किन चितवनबाट पोखरा लगियो ?’
उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको तर कांग्रेस र एमालेका नेताहरुलाई भने जोगाउने काम गरेको गम्भीर आरोप लगाए । उनले भने,‘विपक्षी दलका नेतामाथि प्रशन उठ्नेवित्तिकै छानबिन गर्ने । अनि आफ्ना नेता र निकट मान्छेमाथि प्रश्न उठ्दा केही पनि गर्नुनपर्ने । के यही हो लोकतन्त्र, यही हो यो सरकारको सुशासनको मोडेल ?’ File Photo