Logo

सरकारले भ्रष्टाचारीमाथि कारबाही गर्ने भन्ने कुरा आफैंमा मिल्दैनः एमाले नेता रिजाल (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भन्ने कुरा आफैंमा हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीहरुलाई कारबाही गरेका थियौं भनेर सस्तो लोकप्रियता हासिल गर्न खोजेको उनले बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रहरीले अनुसन्धान गर्ने र अदालतमा पेश भएपछि अदालतको आदेश पछिमात्रै कारबाही हुने बताए ।

‘एउटा कुरा म के भन्न चाहन्छु भने– सरकारले भ्रष्टाचारीमाथि कारबाही गर्ने भन्ने कुरा आफैंमा मिल्दैन । हामीले बुझ्नुपर्ने कुरा के छ भने– हाम्रा अनुसन्धान गर्ने निकायहरु छन् । प्रहरीले अनुसन्धान गर्छ, अदालतमा पेश गर्छ । अदालतमा बहस हुन्छ, त्यसपछि अदालतले गरेको फैसलाअनुसार कारबाही हुने वा नहुने हुन्छ । अख्तियार दुरुयोग अनुसन्धान आयोग छ,’– उनले भने ।

साथै, उनले फरक प्रसंगमा रास्वपाको सभापति र पूर्व उपप्रधान एवं गृहमन्त्री भएको कारण रवि लामिछानेमाथि क्ुनै कारबाही र अनुसन्धान नगरिएको प्रष्ट पारे । गोर्खा मिडिया प्रा.लि. को एमडी हुँदा ६५ करोड अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको र यसमा कुनै राजनीतिक पूर्वाग्रह नरहेको बताए । अदालतको अनुमतिले लामिछानेलाई थुनिएकाले सरकारले पूर्वाग्रह राखेको भन्न नमिल्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्