Logo

ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल र बदनाम भइसक्योः माओवादी नेता किराती (भिडिओसहित)



काठमाडौं, २९ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल र बदनाम भइसकेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ‘डे वान’ बाट नै सरकारले जनताको चाहना र देशको हितविपरीत काम गरिरहेको बताएका हुन् ।

‘जुन उद्देश्यले गठन गरियो भनेर बाहिर भ्रम छर्न सफल भएको थियो यो सरकार, धेरै वटा एजेण्डामध्ये एउटा स्थायित्व भनेको थियो । हाम्रो तर्फबाट देश र जनताको काम गर्ने शर्तमा उहाँहरुको स्थायित्व ५/१० वर्ष होईन, २० वर्ष होस् भन्ने शुभकामना नै थियो । तर, ‘डे वान’ बाट नै सरकारले जनताको चाहना र देशको हीत विपरीत काम गरेको छ । त्यसकारण यो सरकार पूर्ण असफल र बदनामी सरकारमा परिणत भइसकेको छ,’– उनले भने ।

वर्तमान सरकारले सुशासनको पक्षमा पनि काम गर्न नसकेको किरातीले बताए । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीले जापानको हाटमा मान्छे बेच्न पुर्याउँदा पनि सरकारले कारबाही नगरेको भन्दै उनले आक्रो व्यक्त गरे । अधिकारीको उक्त प्रकरणलाई पूर्वमन्त्री किरातीले ‘ओली सरकारको सुशासनको नयाँ अनुहार’ को संज्ञा दिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्