साउन २०, काठमाण्डौ । नेकपा एमालेका नेता केशव बडालले प्रदेश नम्बर दुईको स्थानीय तहको चुनावका लागि पार्टी केन्द्रित भएको जानकारी दिएका छन् ।
शुक्रबार विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडालले पछिल्लो समय लगातार स्थायी समितिको बैठक बसेको र समसामयिक अवस्थाको बारेमा पनि छलफल भएको जानकारी दिए ।
प्रदेश नम्बर २ सँग जोडिएका नेताहरु चुनावका लागि उतै व्यस्त भएको बडालले बताए ।
दुई नम्बर प्रदेशमा नेकपा एमाले बलियो स्थितीमा रहेको दाबी गर्दै बडालले त्यस क्षेत्रका आम जनता एमालेको पक्षमा रहेको बताए । केही राजनीतिक दलका नेताहरु मात्र एमालेसँग असन्तुष्ट भएको दाबी पेश गर्दै बडालले भने, “कसैलाई एमाले मन पर्दैन, त्यो बेग्लै कुरा हो तर आम जनताले चाँही हाम्रो हितका निम्ति एमालले काम गर्छ भन्ने विश्वास लिएका हाम्रो हितका निम्ति एमालले काम गर्छ भन्ने विश्वास लिएका छन् ।”
४५ देखि ५० प्रतिशत सिट एमालले जित्ने दाबी बडालको छ । संविधान संशोधनको विपक्ष भएकै कारण नेकपा एमालेलाई कुनै असर नपर्ने बडालले तर्क गरेका छन् । संविधान संशोधन सुरुवात नेकपा एमालेले नै गरेको स्मरण गराउँदै बडालले अहिलेको संविधान संशोधन भने राष्ट्रहित विपरित भएको बताए ।