Logo

कञ्चनपुर ठूलो व्यापारिक नाकाका रुपमा विकास हुन्छः नेता लेखक



भीमदत्तनगर, २८ असोज : पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर आगामी केही वर्षभित्रै ठूलो व्यापारिक नाकाका रुपमा विकास हुने बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आज व्यापार तथा व्यवस्थापन शिक्षासम्बन्धी शैक्षिक सम्मेलनको उद्घाटनपछि बोल्दै नेता लेखकले कञ्चनपुरबाट उत्तरको चीन र दक्षिणको भारतलाई यातायात र पूर्वाधार जोड्न सके केही वर्षभित्रै ठूलो नाकाका रुपमा विकास हुनेमा जोड दिनुभयो ।

“छिमेकीमा दुई ठूला अर्थतन्त्र रहेको मुलुक छन्” लेखकले भन्नुभयो–“हामीले यातायात र पूर्वाधार मात्रै जोड्न सके धेरै विकास हुन्छ ।” उहाँले दुवै देशसित व्यापारिक नाका बनाउने विषय प्रक्रियामा रहेको जानकारी समेत दिनुभयो । उहाँले व्यापारमा नयाँ प्रकृति आइरहेको बताउँदैसँगै आउने चुनौती र सम्भावनालाई व्यवस्थापन आजको आवश्यकता रहेको औँल्याउनुभयो । मुलुक आर्थिक रुपले सबल भए मात्रै लोकतन्त्र दिगो रहनसक्ने उहाँको भनाइ थियो । “अब समुन्नति आवश्यक छ” उहाँले भन्नुभयो– “युवा वर्ग आर्थिक विषयमा अघि बढ्नु जरुरी छ ।”

यहाँस्थित ब्रिक्टन कलेजको आयोजनामा आजदेखि शुरु भएको शैक्षिक सम्मेलनमा महेन्द्रनगर र धनगढीका विभिन्न क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थीको सहभागिता रहेको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्