Logo

नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीबिच चुनावी तालमेलको प्रयास



२९ असोज, काठमाण्डौ । वाम गठबन्धनबाट बाहिरिएको नयाँ शक्ति पार्टी नेपालले नेपाली कांग्रेससँग चुनावी तालमेलको प्रयास गरेको छ । आफ्नो दललाई हैसियत अनुसार सम्मान नदिएको भन्दै वाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कांग्रेससँग तालमेलका लागि परामर्श सुरु गरेका हुन् ।

संयोजक भट्टराईले शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तालमेलबारे छलफल गरेका हुन् ।

भट्टराईले गोरखा २ बाट चुनाव लड्न चाहेका छन् । तर, आफ्नो नाममा सहमति नजुटेपछि भट्टराई एमाले र माओवादी केन्द्रको गठबन्धनबाट बाहिरिएका थिए ।

नेता भट्टराईले गोरखा २ मा कांग्रेससँग तालमेल गर्न प्रस्ताव राखेका छन् ।

यस विषयमा प्रधानमन्त्री देउवाले पनि सकारात्मक देखिएका छन् । गोरखा दुईमा कांग्रेस नेतृ कमला पन्तले चुनाव लड्ने तयारी गरिरहेकीछिन् । यद्यपी त्यस क्षेत्रबाट सुरेन्द्र पाण्डे र अब्दुल सतारसहित तीन जनाको नाम सिफारिस भएको छ ।

वाम गठबन्धनबाट भने माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा छन् ।



प्रतिक्रिया दिनुहोस्