१० कात्तिक, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दाबी गर्दै आएका गोविन्दराज जोशीलाई समानुपातिक सुचिमा राख्ने तयारी भएको छ । नेपाली कांग्रेसको संसदीय बोर्डले बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएसँगै सोही क्षेत्रमा दाबी गरेका जोशीलाई समानुपातिकको सूचिमा अग्रस्थानमा राखिने भएको हो ।
प्रत्यक्षतर्फ १ नम्बर क्षेत्रमा नै आफुले टिकट पाउनुपर्ने भन्दै पछिल्लो समय बरिष्ठ नेता पौडेलविरुद्ध प्रचारबाजी गर्दै आएका जोशीलाई समानुपातिक सुचिको अग्रस्थानमा राखेर सासंद बन्ने बाटो खुला गर्न लागिएको हो । जोशीले आफुलाई टिकट नदिए पनि उम्मेदवारी दिने भन्दै दबाब दिदै आएका छन् ।
तनहुँ कांग्रेस समितिका एक सदस्यले दिएको जानकारी अनुसार जोशीलाई समानुपातिकमा राख्ने विषयमा पौडेल र पार्टी सभापति शेरबहादुर देउवाबिच सहमति भइसकेको छ । यस विषयमा जोशीले पनि सहमति जनाएको बताइएको छ ।
तनहुँ कांग्रेसलाई कमजोर बनाउनका लागि पौडेलविरुद्ध उत्रिएर जोशीले सच्चा कांग्रेसीको व्यवहार नदेखाएको कतिपयको आरोप थियो । झण्डै ५० वर्ष नेपाली राजनीतिमा सक्रिय पौडेलविरुद्ध जोशीले दिएका अभिव्यक्ति अनुशासविपरित भएको आरोप जोशीमाथि लगाइएको छ ।
ठूलो भाग खोजेर सानोमा चित्त बुझाउने रणनीति जोशीले लिएको एक नेताले टिप्पणी गरेका छन् ।
पार्टीले गरेको आधिकारिक निर्णयविरुद्ध समानुपातिक सुचिमा राख्दा पनि बागी उम्मेदवारी दिएमा जोशीलाई कांग्रेस भन्न नसकिने तर्क कतिपयले गरेका छन् ।
निर्वाचन आयोगले आगामी १२ गते समानुपातिकतर्फको बन्द सुचि सार्वजनिक गर्दैछ । उक्त सुचि सार्वजनिक भएपछि तनहुँ कांग्रेसको विवाद साम्य हुने बताइएको छ ।
तनहुँमा रामचन्द्र पौडेललाई हराउनका लागि अरु दलले पनि षडयन्त्र गरेको र त्यसमा जोशीलेसमेत साथ दिएको कतिपयको आशंका छ । जोशीले गरेको भेलामा देखिएको उपस्थिती सच्चा कांग्रेसीको मात्र नभै अन्य दलले पनि जोशीलाई उक्साउनका लागि साथ दिएको आशंका तनहुँका कांग्रेस नेता तथा कार्यकर्ताले गरेका छन् ।