Logo

धादिङका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार विजयी हुने अर्यालको दाबी



धादिङ, ७ मंसिर । धादिङ् क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार विश्व प्रसाद अर्यालले धादिङका सबै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरु विजयी हुने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले धादिङका जनता लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउन आँतुर रहेको समेत सुनाए । उनले भने,‘अहिले जनतालाई लोकतन्त्रवादीहरुको पक्षमा भोट हाल्न आँतुर छ।’ ३० वर्षदेखि वामपन्थीहरुले विकास गर्न नसकेकोले लोकतान्त्रिकवादीहरुलाई मत हाल्न धादिङवासी आँतुर रहेको उनको भनाई थियो ।

उनले भने,‘नीजी सम्पती कमाउन यहाँका प्रतिनिधि लागिपरेका छन्, कम्युनिष्टहरुले यहाँको विकासको लागि केही गरेकै छैनन्, उनीहरुको काम भनेको कसरी नीजी सम्पत्ति कमाउने भन्नेमात्रै हो ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले धादिङ् विकासको दृष्टिकोणले पछि पर्नुको प्रमुख कारण कम्युनिष्टहरुको कारणले भएको आरोप लगाए । उनले भने,‘काठमाडौंसँग नाका जोडिएको यो जिल्ला सँधै विकासको दृष्टिकोणले पछि परेको छ, विकास हुन सकेन, कम्युनिष्टको कारणले नै हो।’

अर्यालले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमत ल्याउने दाबी समेत गरे । उनले थपे,‘हाम्रै धादिङको कुरा गर्नुहुन्छ भने यहाँका जनताहरुले उत्साहका साथ पाण्डे र जमकट्टेलाई विदाई गर्न चाहनुभएको छ, आफूहरुलाई परिवर्तन गर्नुभएको छ, परिवर्तनको नारासँग जनता वाक्क छन् ।’

धदिङमा विकास नहुनुमा को दोषी भन्ने धमलाको प्रश्नमा उनले आक्रोश पोख्दै भने,‘यहाँका प्रतिनिधिहरु नै दोषी हुन् । हुन त उहाँहरु अहिले आएर मत माँगिरहनुभएको छ, लोकतन्त्र समाप्त गर्न, एक दलीय शासन गर्न चाहनुभएको छ।’ उनले आफूहरु अहिलेसम्म लोकतन्त्रको लागि कहिल्यै सम्झौता नगरेकोले यो मुद्दामा सम्झौता हुनै नसक्ने जिकिर गरे ।

उनले यो पटकको निर्वाचनमा आफु लगायत जुझारु युवा नेताहरु चुनावी मैदानमा भएकोले तीस वर्षमा गर्न नसकेको काम एक वर्षभित्र पूरा गरेर देखाउने समेत विश्वास दिलाए ।

उनले वाम गठबन्धन भएकै कारण एमाले–माओवादी केन्द्रका उम्मेद्धवारहरुले चुनाव हार्ने समेत ठोकुवा गरे । उनले भने,‘दण्डित हुनुपर्ने मान्छेहरु उम्मेद्धवार बन्नुभएकोछ, व्यक्तिगत सम्पत्ति आर्जन गर्नको लागि मात्रै उनीहरुले ध्यान दिए, हामी त विजयी भएपछि यो क्षेत्रको विकासको लागि काम गरेरै देखाउँछौं।’

धादिङ्का कच्ची सडकहरुलाई पीच गर्ने, सडक सञ्जाल नपुगेका ठाउँहरुमा बाटो पुर्याउने लगायतका कामहरु आफ्नो पहिलो प्राथमिकतामा रहेको समेत उनले योजना सुनाए । उनले भने,‘चितवनदेखि काठमाडामौं र लुम्बिनी जाने नाका बन्छ । धादिङ यातायातको हब बन्छ, रोजगारी वृद्धि हुन्छ । त्यस्तै भुकम्पपछिको पूर्ननिर्माणको कुरामा हामीले जोड दिएका छौं । खानेपानीको समस्या समाधान गर्छौं ।’

धादिङमा कांग्रेसले संगठन विस्तार गर्न सकेन नि ? भन्ने धमलाको अर्को प्रश्नमा उनले थपे,‘नेपाली कांग्रेसले जित्न सकेन, तर हारेरपनि जनाको पक्षमा आवाज उठाईरहेको छ । कम्युनिष्टहरु सत्ताको लागि जे पनि गर्न सक्नुहुन्छ । तर हामी त्यस्तै गर्दैनौं, विकास र समृद्धिको लागि हामी जनताकै साथमा छौं।’



प्रतिक्रिया दिनुहोस्