Logo

वाम गठबन्धनलाई बहुमत दिन जनतालाई माधवकुमार नेपालको आग्रह



काठमाडौँ, ९ मंसिर (रासस) ः नेकपा (एमाले) का नेता माधवकुमार नेपालले विगतमा कहिले दुई तिहाइ र कहिले बहुमतसहितको जनमत पाएर पनि योग्यता प्रदर्शन गर्ने नसक्ने काँग्रेसको विकल्पमा वाम गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–९ ले मैतीदेवीमा आज आयोजना गरिएको चुनावी कार्यक्रममा उहाँले वाम गठबन्धनलाई बहुमत दिएर मुलुक बनाउने जिम्मेवारीसहित अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

देशमा राजनीतिक अस्थिरताकै कारण विकास र आर्थिक प्रगति हुन नसकेको बताउँदै उहाँले स्वदेशी पूँजी परिचालन गरी नेपालीलाई सम्पन्न बनाउनसक्ने दृष्टिकोण आफूहरुसँग रहेको प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले आफू प्रधानमन्त्री हुँदा माथिल्लो तामाकोशी स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय गरिएको र त्यसको अहिले ९८ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै वामपन्थी नेतृत्वमा सरकार गठन भएमा देशको मुहार परिवर्तन गरिने बताउनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका उहाँले वामपन्थी गठबन्धनको साझा संकल्प र प्रतिबद्धतामा आधारित भएर काम गर्ने योजना रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्