Logo

कम्युनिष्टले मुलुकमा तानाशाही शासन लाद्न खोजेको प्रधानमन्त्री देउवाको आरोप



रामपुर, पाल्पा, ९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कम्युनिष्टवादीले तानाशाही शासन लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

पाल्पाको रामपुरमा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले मुलुकमा कम्युनिष्टवादीले शासन गरेर एकदलीय तानाशाही ल्याउन खोजेका छन् तर यसलाई नेपाली जनताले कदापी स्वीकार गर्ने छैनन् भन्नुभयो । कम्युनिष्टको एकदलीय शासनले जनतालाई सधँै डर र त्रासमा राख्ने हुँदा लोकतान्त्रिक पाटी नेपाली काँग्रेसलाई विजय गराउन उहाँले आग्रह गर्नुभयो । मुलुकको शान्ति र समृद्धिका लागि काँग्रेसको नेतृत्व जरुरी रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम, छिटो सम्पन्न गर्ने र स्तरोन्नति हुन नसकेको रामपुर अरुणखोलाका सडक निर्माण गर्ने कामलाई तदारुकता दिने प्रतिबद्धतासमेत जनाउनुभयो ।

सो अवसरमा वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठनबन्धनको कुनै पनि हालतमा औचित्य नभएको बताउँदै लोकतन्त्रभन्दा पछाडि देश फर्किन सक्दैन भन्नुभयो ।

निमुखालाई न्याय र विपन्नलाई आय दिने, बेरोजगारलाई रोजगार र आम्दानी गरी मुलुकमा अर्थतन्त्रको विकासका लागि काँग्रेसले मात्र काम गर्ने नेता पौडेलले बताउनुभयो ।

आमसभामा पाल्पा क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार विजयराज घिमिरे, प्रदेशसभा (क) का उम्मेदवार देवराज ढकाल, महासमिति सदस्य रमणबहादुर थापालगायतले सम्बोधन गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्