Logo

आचारसंहिता विपरीतका झण्डा , तुल र ब्यानर हटाइयो



पथरी, मोरङ, १० मंसिर (रासस) : आचारसंहिता विपरीत मोरङका विभिन्न सार्वजनिक ठाउँमा राखिएका राजनीतिक दलका झण्डा र तुल–ब्यानर सरोकारवालाको टोलीले हटाएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार मोरङका विभिन्न क्षेत्रमा आचारसंहिता विपरीत टाँगिएको झण्डा, तुल–ब्यानर शनिबार साँझसम्म गरिएको अनुगमनमा विराटनगर–रंगेली सडकखण्डमा पर्ने विभिन्न गाउँपालिका र रंगेली नगरपालिकामा राखिएका तुल–ब्यानर हटाएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेल, मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडासहित सुरक्षा निकायका प्रमुखको टोलीले आचारसंहिता विपरीतका तुल–ब्यानर हटाएको सञ्जेलले जानकारी दिनुभयो । आचारसंहिताको अनुगमनमा निस्किएकाले टोलीले निर्वाचन कार्यालयको पासबिना सवारीसाधनमा पार्टीको झण्डा र ब्यानर राखेर कुदाएको गाडीसमेत फेला पारेको थियो ।

यस्तै मोटरसाइकल चालकले समेत पार्टीको झण्डा बाँधेर हिँडिरहेको भेटिएको थियो । दलका नेता तथा कार्यकर्ताले सार्वजनिक ठाउँमा पार्टीको तुल–ब्यानर राख्नाका साथै सर्वसाधारणका निजी घर, पसल र सवारीसाधनमा समेत जबर्जस्ती झण्डा राखेको फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्