वासुदेव पौडेल : पोखरा, ३ फागुन / प्रकृतिका मनोरम छटायुक्त पोखरा प्राकृतिक सौन्दर्यताको मात्र नेतृत्व गरेको भूमि नभएर नेपालका परिवर्तनका विभिन्न आन्दोलनमा नेतृत्व गरेको ठाउँसमेत हो ।
प्रजातन्त्र प्राप्तिको आन्दोलनदेखि सत्याग्रह, जनमत संग्रह हुँदै प्रजातन्त्रको पुनःस्थापनादेखि दोस्रो जनआन्दोलनमा पनि पोखराले नेतृत्वदायी भूमिका निर्वाह ग¥यो ।
इतिहास एवं तत्कालीन परिवेशलाई खोतल्ने हो भने आजभन्दा पाँच दशकभन्दा अघि रातो माटाले पोतिएका कच्ची घर, फराकिला चौर, ढुंगाले बिच्छाइएका सडक, सडकका छेउमा बाटुले चौतारा आदि पोखराका दृश्य हुन् ।
सेती नदीमा काठका मुढा राखेर आवतजावत गर्नुपर्ने तत्कालीन पोखरामा विन्ध्यवासिनी, भैरवटोल, भीमसेनटोल, नालाको मुख, तेर्सापट्टी, साँघुको मुखजस्ता ठाउँ यहाँका मुख्य बस्ती एवं बजार बसेका ठाउँ हुन् ।
प्रजातन्त्र सेनानी लीलाभक्त आचार्यका अनुसार तत्कालीन समयमा पोखरामा राणा बडा हाकिम धन शमशेरले यहाँको प्रशासन चलाउँथे । पोखरामा राणाशासनको निरंकुशताका विरुद्धमा जनचेतना अभिवृद्धि गर्न र उक्त अभियानलाई साकार पार्न रामानन्द योगी (तत्कालीन अवस्थामा कानो जोगी भन्ने गरिएको), प्रेमचैतन्य ब्रह्मचारीलगायतको ठूलो भूमिका रहेको उहाँले बताउनुभयो ।
त्यस समयमा छरिएका पर्चाले राणा विरोधी गतिविधिमा जनचेतना अभिवृद्धिका लागि ठूलो मद्दत पु¥याएको उहाँको भनाइ छ । जहानीय शासनसँगै शुरु भएको निरंकुशताका विरुद्धमा संगठित बन्ने ध्येयका सात १९८८ मा खुलेको प्रचण्ड गोर्खा, १९९३ मा खुलेको प्रजापरिषद्, १९९४ मा खुलेको नागरिक अधिकार समितिले कुनै कुनै रुपबाट आफ्ना कार्यक्रमलाई अघि बढाएका थिए ।
राणा विरोधी गतिविधि बढ्दै जाँदा १९९७ माघमा शुक्रराज, गंगालाल, धर्मभक्त र दशरथचन्द्रजस्ता सपुतलाई फाँसी दिइयो भने विरोधमा उत्रेका कृष्णप्रसाद कोइराला भारत निर्वासन हुन बाध्य भए ।
उक्त समयमा राणाको अन्याय, अत्याचारका विरुद्धमा गोर्खे खबर कागज, युगबाणी, नेपाल पुकारजस्ता पत्रपत्रिकाका माध्यमबाट जनचेतना अभिवृद्धिका कामलाई अघि बढाइयो । राणाविरोधी गतिविधि बढ्दै जाँदा त्यसको प्रभाव पोखरेली युवामा पनि परेको थियो ।
२००४ सालमा भारतमा बस्ने नेपाली युवाले बिपी कोइरालाको नेतृत्वमा गठन गरेको राष्ट्रिय काँग्रेस, गिरिजाप्रसाद कोइरालाको नेतृत्वको विराटनगरको जुटमिल आन्दोलन, जयतु संस्कृतम् आन्दोलन आदिमा पोखरेली युवाको सक्रिय सहभागिता रहेको पाइन्छ ।
आन्दोलनका विभिन्न मोर्चामा सक्रिय बनेका मुक्तिनाथ तिमल्सिना, श्रीकान्त अधिकारी, माधव घिमिरे, रामबहादुर बडगामी, लोकनाथ घिमिरेजस्ता पोखरेली युवाका कारण पोखरामा पनि विस्तारै राणाविरोधी आन्दोलनको शुत्रपात भएको थियो ।
त्यस्तै तत्कालीन समयमा पोखराको धर्मशिला बौद्ध विहारमा आवतजावत गर्ने बौद्ध भिक्षुबाट पनि राणा विरोधी आन्दोलनलाई सहयोग पुगेको देखिन्छ । बिपी कोइराला नेतृत्वको नेपाल राष्ट्रिय काँग्रेस र सुवर्ण शमशेर नेतृत्वको प्रजातन्त्र काँगेसबीच २००६ सालमा एकीकरण भए पछि बनेको नेपाली काँग्रेसले २००७ साल असोज १२ र १३ गते बैरगनियाँमा सम्पन्न महाधिवेशन सम्पन्न गरेको थियो ।
उक्त महाधिवेशनबाट कात्तिक २६ गतेबाट देशव्यापी सशस्त्र क्रान्ति गर्ने घोषणासँगै राणाशासकको मुटुमा ढ्याग्रो ठोकेको थियो । सशस्त्र क्रान्तिको घोषणा भए पनि नेपालको भौगोलोकि विकटता एवं तत्कालीन समयमा यातायातको कठिनता, सञ्चारको अभाव आदिका कारण सर्वसाधारण भने त्यसबारे अनभिज्ञ थिए ।
सर्वसाधारणको अनभिज्ञतालाई दृष्टिगत गरी काठमाडौँ मात्र नभएर कास्की, स्याङ्जालगायतका जिल्लामा पनि राणाशासनको ज्यादती एवं जनताका हकअधिकारका सम्बन्धमा जनचेतना अभिवृद्धिका लागि गाउँ बस्तीमा पर्चा छर्ने अभियान शुरु गरिएको थियो ।
पोखरामा सर्वसाधारणमा चेतना अभिवृद्धि गर्न २००४ सालमा बाटुलेचौरमा खोलिएको आधार स्कूलको ठूलो भूमिका रहेको पोखरेली इतिहासका अनुसन्धानदाता एवं संस्कृतिविद् तीर्थ श्रेष्ठ बताउनुहुन्छ ।
“२००७ सालको क्रान्ति पूर्वपोखरामा आन्दोलनको वातावरण तयार गर्न आधार स्कूलले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ,” उहाँले भन्नुभयो, “उक्त विद्यालयमा माधव घिमिरे, श्रीकान्त अधिकारीलगायतले अध्यापन गराउनुभएको र राणाको निरंकुशताका विरुद्ध गतिविधि बढाउन त्यो बेला महेन्द्र गुफामा बसेर छलफल गरिन्थ्यो भन्ने पाइन्छ ।”
तत्कालीन समयमा पोखराको चिसाखोला ब्रह्मचारी आश्रममा संस्कृत भाषाका अध्यापक ब्रह्मचारी प्रेम चैतन्यसँग संस्कृत भाषा एवं धार्मिक प्रवचन सुन्नका लागि व्यक्ति जमघट हुने गरेकोमा विस्तारै उक्त आश्रमबाट पनि राणा विरोधी गतिविधि बढ्न थाल्यो ।
त्यस्तै उक्त समयमा पोखरेली युवाको सक्रियतामा २००६ साल मंसिरमा नदीपुरको नारायण स्थानस्थित पौवामा खुलेको मिडिल स्कूल पनि जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम बनेको संस्कृतिविद् श्रेष्ठको भनाइ छ ।
२००६ साल चैत २९ गते विन्ध्यवासिनी मन्दिरमा लागेको आगोका कारण मन्दिरको दक्षिणतर्फका धेरै घर जल्दा ठूलो धनजनको क्षति भएको थियो । उक्त आगलागीले यस क्षेत्रका पाँच सात जना मानिसको मृत्युसमेत भएको थियो ।
राणा विरोधी गतिविधि बढिरहेका अवस्थामा घरवारविहीनका लागि गरिएको क्षतिपूर्तिको माग बडाहाकिम धन शमशेरमा मात्र नभई केन्द्रीय सरकारसम्म पुगेको थियो ।
बढ्दै गएको राणाविरोधी गतिविधिबाट त्रसित तत्कालीन सरकारले आगलागीको स्थलगत अध्ययन गर्ने बाहनामा दिव्य शमशेर र फत्तेबहादुरलाई पोखरा पठाएर यहाँका गतिविधिको शुक्ष्म अध्ययन गरिएको पाइन्छ । उक्त समयमा पर्चा छर्न खटिएका रामानन्द योगी (कानो जोगी) कास्की, लमजुङ र तनहुँका गाउँमा क्रियाशील थिए ।
पर्चा छर्ने क्रममा २००६ सालको चैततिर उनी तनहँुको बन्दीपुरमा पक्राउ परे । उनका साथबाट फेला पारिएका कागजातका कारण राणाले धरपकड गर्दा कास्कीबाट माधवप्रसाद घिमिरे, सुन्दरप्रसाद मर्सानी, धर्मशीला अनागरिका, विष्णुहरि पहारी, मीनबहादुर गुरुङलगायतका व्यक्ति पक्राउमा परे ।
आन्दोलन बढ्दै जाँदा २००७ साल पुस २२ गते प्रेमबहादुर प्रधान, ऋषिकेशव पराजुली, दयाशंकर पालिखेलगायतका युवा काँग्रेसको झण्डा लिएर सडकमा निस्केपछि पहिलोपटक उनीहरूलाई गिरफ्तार गरियो ।
प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यका अनुसार गिरफ्तारी पछि झनझन बढ्दै गएको आन्दोलनका कारण राणाविरोधी जनलहरले पुस २४ गते पोखराका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा परेको थियो ।
शुरुमा कब्जा गरे पनि दुई दिनपछि तत्कालीन शासनसत्तालाई थप मद्दत आएका कारण आन्दोलनकारीलाई तितरवितर पारिएको आचार्यको भनाइ छ । धरपकड र गिरफ्तारीसँगै जिल्ला जिल्लामा बढेका राणा विरोधी गतिविधिका कारण अन्ततः २००७ साल फागुन ७ गते जहानीयाँ राणाशासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको अर्का प्रजातन्त्र सेनानी हीरामणि सुवेदीले बताउनुभयो ।
“तत्कालीन युवाको संघर्षका कारण अवस्थामा देशभर नै राणाविरोधी जनचेतना बढ्दै गएका कारण नै राणाशासनको अन्त्य भएको हो,” सुवेदीले भन्नुभयो, “प्रजातन्त्र प्राप्तिको संघर्षदेखि त्यसपछिका प्रजातन्त्रको पुनःस्थापना, दोस्रो जनआन्दोलनलगायतका संघर्षमा पोखरेली जनताको ठूलो साथ र सहयोग हुँदै आएको छ ।”