धनराज वास्तविक: काठमाडौं, २ चैत । कर्णाली प्रदेको विकास र समृद्धिको लागि राजधानीको हिमालय होटेलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कर्णाली प्रदेशका सम्पूर्ण सभासद राजधानीमा उपस्थित भएको र कर्णाली प्रदेशको विकासका लागि विभिन्न क्षेत्रका विज्ञहरु राजधानीमै रहेका कारण उक्त अन्तरक्रिया गरेको आयोजकले जानकारी दिएको छ ।
‘कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक’ अन्तरक्रिया कार्यक्रममा विभिन्न विधाका विज्ञहरुले आफ्ना अनुभव तथा स्केलहरु वृत्तिचित्र मार्फत स्पष्ट पारेका थिए ।
डा. सर्वराज खड्काले कृषि र भूमिको विकासका लागि चुनौती र सरोकार विषयमा धारणा राखेका थिए । त्यस्तै डा. अरुणा उप्रेतीले कर्णालीमा स्वास्थ्य समस्या र स्थिति, डा. नन्द बहादुर शाहीले कर्णालीमा पर्यटन प्रवद्र्धन, योगे्रन्द्र शाहीले कर्णाली ग्रामीण विकासको मोडल, डा. दीपेन्द्र रोकायले कर्णाली प्रदेको खाका पस्तुत गरेका थिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रियमा पूर्वगृहमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले अवको १० वर्ष भित्र कर्णाली प्रदेशलाई सबै भन्दा धनी प्रदेश बनाएर छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सम्भव भएको बताएका छन् ।
शर्माले भने,‘कर्णालीको प्राकृतिक श्रोतलाई सही रुपमा परिचालन गरेको खण्डमा आगामी १० वर्षमा समृद्ध प्रदेश निर्माणको सम्भावना छ, अहिले कर्णाली प्रदेशलाई अति गरीब प्रदेशको रुपमा लिइने गरिन्छ, तर म त भन्छु कर्णाली प्रदेश भाषा, साँस्कतिक सम्पदा, संस्कृतिको जन्मथलो हो, यसअर्थ कर्णाली अति सम्भावना, सामाजिक न्याय र समृद्धिको नयाँ नाम पनि हो ।’
पूर्वमन्त्री शर्माले कर्णालीप्रदेश सरकारलाई तत्कालै प्राकृतिक श्रोतको नक्साँकन गर्दै त्यसको परिचालनको योजना निर्माणमा लाग्न आग्रह गरे । उनले कर्णाली प्रदेशको जलश्रोतको मात्रै उपयोग गर्दा सिंगै मुलुकले भोगिरहेको खर्वौंको अन्तराष्ट्रिय व्यापार घाटालाई शून्यमा झार्न सकिने धारणा पनि राखे ।
कर्णाली प्रदेशमा सबै भन्दा बढि यूवा जनशक्ति भएको भन्दै नेता शर्माले मानसरोवर, छायानाथ, रारा ताल लगायतका क्षेत्रलाई जोडेर विविधतायुक्त पर्यटकीय सर्किट निर्माण गर्न र यूवाहरुलाई विकासमा जुट्न आग्रह गरेका छन् ।
कर्णालीको समृद्धिको अर्को महत्वपूर्ण आधार कृषि, जडीवुुटी, वन र खानी भएको बताउँदै उनले भने,‘भूमीको अधिकतम प्रयोग मार्फत कृषिको विकास, जडीवुटीको उपयोग र युरोनियम तथा पेट्रोलियम पदार्थ लगायतका खनिज पदार्थको उत्खनन गर्नुपर्छ।’
प्रभाकरले अघि थपे,‘सम्भवनाको खानी हो, सुनको ढल्लो हो अब हामी कालि गढ बनेर काम गर्नुपर्छ, सामान्य अवस्थाको योजना र कार्यशैलीले अहिलेको अवस्था परिवर्तन गर्न सम्भव छैन् हामीले बिगबुस दिन जरुरी छ ।’ उनले भने,‘प्रदेश सरकारको नेतृत्वमा कर्मचारी संयन्त्र, स्थानीय सरकार, जनता सवैले दैनिक २० घण्टा काम गर्न तयार हुनुपर्छ ।’
त्यस्तै पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले कर्णाली प्रदेश प्रगशील प्रदेशको रुपमा घोषणा गरेका छन् ।
उनले भने,‘कर्णाली प्रदेश प्रगतीशील प्रदेशको नाम हो, जसले केही समय अघि नै प्रदेशको नामाङ्कन तथा प्रदेश राजधानी तोकेर कामहरु अघि बढाएको छ, यस प्रदेशमा भएका स्रोत साधनहरुको उचित प्रयोग गरेर प्रदेशको विकास गर्नुपर्छ।’ अन्तरक्रियामा सहभागिहरुले विभिन्न सुझावहरु पेश गरेका छन् ।
सुझावहरु –
- उपलब्ध जनशक्तिको उच्चतम प्रयोग गर्नुपर्ने ।
- लगानी सम्मेलन गर्नुपर्ने ।
- कर्णाली एकिकृत वस्तिको लागि पाँच वर्षिय योजना ल्याउनु पर्ने ।
- सडक, बाटो, स्वास्थ्थ, शिक्षामा जोडदिनुपर्ने ।
- समयलाई ध्यान दिनुपर्ने ।
- जटिवुटि प्रशोधन केन्द्रको स्थापना गर्नुपर्ने ।
- प्राकृतिक स्रोतहरुको उचित प्रयोग गर्नुपर्ने ।
- एनजिओ-आईएनजिओहरुको उपस्थिति सून्यमा झार्नु पर्ने ।
- हिल्सा नाका खोल्न पहल गर्नुपर्ने ।
- पाँच वर्षे, १० वर्षे योजनाहरुको खाका तयार पारेर त्यस अनुसार काम गर्नुपर्ने ।