चैत ४, काठमाण्डौ । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाझ गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने समय आएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लोहोनीले विकास निर्माणमा भने अनुसार काम गर्न सक्ने हो भने ओली स्वयम् सफल हुने तथा देश र जनता पनि माथि उकासिने बताए ।
देश विकास गर्छु भनेर लामो समय संघर्ष गरेको नेताले मौका पाउँदा काम गर्नुपर्ने उनको धारणा छ ।
नेपालको विकासका लागि साधन र स्रोतको कमी नभएको तर देश र जनताका लागि प्रतिवद्ध भएर काम गर्ने इमानदार नेताको कमी भएको लाहोनीले बताए ।
“देशमा शाषन गर्ने मात्रै होइन, सुशासन कायम गर्नुपर्छ । ओलीले ममा त्यो दृढता छ भन्नुभएको छ । भ्रष्टाचार नियन्त्रण गर्छु भन्नुभएको छ । विभिन्न निकायलाई आफू मातहत ल्याएर शक्तिशाली बन्नुभएको छ । अब काम गर्नुपर्छ ।” उनले भने ।
अधिकार आफ्नो हातमा लिएर शक्तिशाली बन्नु राम्रो वा नराम्रो भन्दा पनि अब काम कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाई छ ।
फरक प्रसङ्गमा लोहोनीले तीन वटै राप्रपा एक हुने भन्ने कुरा आफूले संचारमाध्यमबाट थाहा पाएको भन्दै कुनै छलफल नभएको बताए ।
“यो हल्ला त मैले पनि सुनेको छु । हामीबिच कुनै छलफल भएको छैन । अनलाईनहरुमा चाँही कसकसलाई लेखाउन मन लाग्छ उनीहरुले लेखाएको मात्रै हो ।” लोहोनीले भने ।
तीन वटै राप्रपाबिच एकता हुने कुरा असम्भव भने नरहेको भन्दै उनले तत्काल भने सम्भावना नरहेको स्पष्ट पारे ।