काठमाडौं १० चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दैनिकजसो कर्मचारीहरुको सातो लिइरहेका छन् । खटाइएको कार्यालयमा नजाने कर्मचारीको जागिर नै खाइदिनेसहितको चेतावनी पण्डितबाट दैनिक आइरहेको छ।
तर, उनको यो चेतावनीयुक्त भाषणको प्रभाव संघीय मन्त्रालयहरुका सचिवमाथि परेको छैन । एउटै मन्त्रालयमा सचिव र सहसचिवहरु अड्डा जमाएर बसेका छन्, उनीहरु प्रदेश सरकारमा सचिवको जिम्मेवारी लिन तयार नै छैनन् बरु संघीय मन्त्रालयमै महाशाखा प्रमुख भएर बस्ने योजना बनाइसकेका छन् ।
निजामती कर्मचारीको सबैभन्दा माथिल्लो तहका कर्मचारीहरुको गठजोड यस्तो छ कि उनीहरुले आफू मातहतका कर्मचारीलाई पनि प्रदेशमा जाने बाटो रोकिदिएका छन् । सरकारले प्रदेशमा सचिवस्तरका कर्मचारी राख्ने व्यवस्था गरेको छ ।
सात नम्बर प्रदेशको मन्त्रालयको सचिव बनाएर पठाइएका एक सहसचिव धनगढी जान छोडेर अमेरिका हान्निसकेका छन् । सचिव, सहचिवहरु प्रदेशमा जान तयार नहुँदा प्रदेश सरकारले घोषणा गरेका विकास कार्यक्रम पनि सुरु हुन सकेका छैनन् ।
उल्टै मुख्यमन्त्री र प्रदेश मन्त्रीहरु सचिव र अन्य कर्मचारी खोज्दै सिंहदबारसम्म धाइरहेका छन् । सिंहदरबारलाई गाउँ लाने बाचा गरेका मन्त्रीहरु नै अहिले सिंहदरबारमा कर्मचारी खोज्न बाध्य छन् ।
ऐन, कानुन अलपत्र
सचिवहरु प्रदेशमा नगइदिँदा ऐन, कानुन र नीति निर्माणका काम समेत अवरुद्ध छन् । सचिवहरु नै नगएपछि तल्लो तहका कर्मचारी पनि गएका छैनन् । सचिवसहित कर्मचारी नजाँदा प्रदेश अपाङ्ग जस्तै भएको छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावल केन्द्रबाट खटाइएका सचिवहरु अहिलेसम्म नआएको बताउँछन । ‘आउनुपर्ने सचिव नै हो तर सह-सचिवलाई खटाइएको छ’, उनले भने, ‘तर उनीहरु प्रदेशमा अझै आइपुगेका छैनन् ।’
उनी नयाँ संरचनामा सचिव अतिआवश्यक रहेको बताउँछन् । ‘नयाँ ऐन,कानुन, नीति, नियम बनाउनुपर्नेछ, सचिव नभई हुँदैन, तर खै ! उहाँहरु कता हुनुहुन्छ’, उनी भन्छन् ।
मन्त्री रावल राज्यले खटाएको ठाउँमा जानु कर्मचारीको दायित्व रहेको बताउँछन् । उनले प्रदेशले तत्काल सचिवसहितका कार्मचारी पठाउन पटक पटक केन्द्र सरकारलाई अनुरोध गरेको पनि बताए । ‘हामीले सचिवसहितका कर्मचारी नहुँदा काम गर्न अठ्यारो भयो भनेर केन्द्र सरकारलाई पटक पटक गुनासो गरिसकेका छौँ,’ रावलले भने ।
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको गुहार
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सातै प्रदेशका मुख्यमन्त्रीहरुले सचिवसहितका कर्मचारीहरु तत्काल खटाइदिन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओली र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री पण्डितले समेत सचिव लगायत सबै कर्मचारीलाई खटिएको ठाउँ तत्काल जान निर्देशन दिएका छन् । तर उनीहरु सम्बन्धित प्रदेशमा पुगेका छैनन् ।
अन्नपूर्णपोष्टबाट