Logo

अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली



काठमाडौं ११ चैत । मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली भएको हो ।

अमेरिका पुर्‍याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका ल्याटिन अमेरिकी देशसम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका हुन् ।

करिब ४ सय अलपत्र

मानव तस्करले अलपत्र पारेका ४० नेपाली निगरागुवामा र ३५० जना कोलम्बियामा २७ महिनादेखि अलपत्र रहेका पीडितहरुले बताएका छन् । अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ ।

अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अधिं‌कांश नेपाली अबैधरुपमा पसेकाले ती देशमा बन्दी जीवन बिताइरहेका छन् ।

अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समयदेखि लुकेर बसिरहेका छन् । कतिखेर एजेण्डा आउँछ र लगेर जान्छ भन्दै होटलमा थुनिएर बसिरहेका नेपालीको झन् बिजोग भएको छ ।

अमेरिका पुग्ने आशमा हिँडेका दीपेन्द्र घर्तीले आफू बोलिभिया हुँदै ब्राजिलबाट कोष्टारिका पुगेर अलपत्र परेको बताए । उनले कोष्टारिकासम्म पुग्न एजेण्टहरु राजेन्द्र अधिकारी र नारायण रेग्मीलाई तीन हजार अमेरिकी डलर तिरिसकेको बताए । ‘भएका पैसा सकिएपछि धेरै नेपालीको विचल्ली भएकोछ’, उनले भने, ‘म ३ हजार अमेरिकी डलर डलर तिरेर कोष्टारिका आइपुगेको छु । यहाँबाट न अघि बढ्ने अवस्था छ न त पछाडि फर्कन नै सक्छु ।’

बाटैमा जान्छ ज्यान

मानव तस्कारको पछि लागेर उक्त रुटबाट अमेरिका पुग्ने सपना बोकेर हिँडेका कयौँ नेपाली बीच बाटैमा ज्यान समेत गुमाउने गरेका छन् । नेपालीहरु भारतको दिल्ली, रुसको मस्को, स्पेन र बोलिभियासहितका देश हुँदै कष्टपुर्ण यात्रा झेलेर जल र स्थल मार्गबाट अमेरिका तर्फ हान्निने गरेका छन् ।

मानव तस्करले मोटो रकम लिएर जहाज, डुंगा, रेल र ट्रकमार्फत जोखिमपूर्ण तरिकाले विभिन्न देशका मान्छे अमेरिका पुर्‍याउँदै आएका छन । पछिल्लो समय तस्करले नेपालीलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्‍याउने भनेर लाने गरेका छन् ।

अमेरिका जाने सपनासहित नेपालीले ४० देखि अधिकतम ७५ लाखसम्म रकम खर्च गरेर खर्च गर्छन् । पछिल्लो समय डोनाल्ड ट्रप राष्ट्रपति भएपछि मेक्सिकोको सीमामा कडाई गरिएको छ ।

त्यसैगरी आप्रवासीप्रति कडा नीति लिएपछि गैरकानुनी रुपमा प्रवेशी गर्ने नेपालीलाई अमेरिका असहज भएको छ । अमेरिका प्रवेश गर्ने मेक्सिकोको नाकामा कडाइ भएका कारण सयौँ नेपालीको विभिन्न ल्याटिन अमेरिकी मुलुकमा बिचल्ली भएको हो ।

दलाल बोल्नै चहाँदैनन्

नेपालीहरुलाई अमेरिका लाने काममा सक्रिय काठमाडौँका प्रकाश श्रेष्ठले यसबारेमा बोल्नै चाहेनन् । उनले आफुलाई नेपाली अपलपत्र परेकोबारेमा थाहा नभए भन्दै बोल्नै तयार भएनन् । ‘मलाई थाहा छैन’उनले यति मात्रै उत्तर दिए । तर, पीडित नेपालीहरुले उनीसहितका ५ जना भन्दा धेरैले लाखौँ पैसा लिएको भन्दै सम्पर्क नम्बर पनि दिएका छन् । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्