काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालस्थित् कुटनीतिक नियोगका प्रमुखहरुसँग ब्रिफिङ मिटिङ गरेका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ब्रिफिङ्मा प्रधानमन्त्री ओलीले नेपालका लागि आवासीय राजदुतहरुलाई नयाँ सरकारका प्राथमिकताहरु सुनाएका थिए ।
प्रधानमन्त्री ओलीले ब्रिफिङलगत्तै राजदुतहरुलाई लञ्चको आयोजना गरेका थिए । यही मौकामा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राजदुतहरुसँग प्रधानमन्त्रीले राखेको मन्तव्यबारे पत्रकारहरुलाई जानकारी गराएका थिए ।
पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा मन्त्री ज्ञवालीले भने,‘प्रधानमन्त्रीज्यूले नयाँ सरकारका प्राथमिकता र योजनाहरु उठाउनुभयो, विकासलाई उच्च महत्व दिएको जनाउनुभयो, यो ऐतिहाँसिक महत्वको विषयमा राजदुतहरुसँग सहकार्यको लागि आग्रह गर्नुभएको छ।’
नयाँ सरकारका प्राथमिकताबारे ओलीले ६ वटा पिलरहरुलाई जोड दिएको पनि उनको भनाई थियो । उनका अनुसार राष्ट्रियता, प्रजातन्त्र र आधारभुत स्वतन्त्रताप्रतिको दृढ प्रतिबद्धता, लोकतन्त्रप्रतिको निष्ठा, समृद्धिको लागि सामाजिक न्याय, स्थिरता, सुशासन र अनियमितता हुन नदिन प्रतिबद्धता लगायत सरकारका प्राथमिकताका ६ पिलरबारे ओलीले चर्चा गरेका थिए ।
त्यस्तै ओलीले विदेश सम्बन्धका प्राथमिकताहरुको बारेमा जोड दिएको मन्त्री ज्ञवालीले प्रकाश पारेका थिए । ओलीले परराष्ट्र नीति अनुसार नै अब आफूहरुले ईकोनोमिक ईंगेजमेन्टमा जोड दिने विचार व्यक्त गरेका थिए ।
ओलीले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नदिनुहोस् भन्दै राजदुतहरुलाई विशेष अनुरोध गरेका थिए । उनले भनेका थिए,‘हामीलाई बाहृय हस्तक्षेप स्विकार्य छैन।’ ओलीले सुखी नेपाली र समृद्ध नेपाल नै आफूहरुको मुल मन्त्र भएको धारणा समेत राखेका थिए । उनले विदेशी लगानी नेपाल भित्र्याउन सहयोग गर्न समेत राजदुतहरुलाई आग्रह गरेका थिए । ओलीले लगानीको वातावरण वर्तमान सरकारले बनाउनेबारे विश्वास दिलाएका छन् ।