चैत १४, काठमाण्डौ । शिवम सिमेन्टले ५२ करोड रुपैंया वरावरको ५२ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको छ । सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनी निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । उत्पादनमुलक समूहमा सिमेन्ट उद्योग क्षेत्रबाट पहिलो कम्पनीले सेयर जारी गर्ने भएको हो ।
कम्पनीले स्थानीय बासिन्दाको लागि आठ करोड ८० लाख रुपैयाँ (आठ लाख ८० हजार कित्ता) सेयर जारी गर्ने भएको हो । उद्योग प्रभावित क्षेत्र हेटौडाको हटिया लगायतका क्षेत्रका बासिन्दाले सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डमा लगेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय रुपैयाँभन्दा केही बढि हुने भएको हो ।
बाँकी ४४ लाख अर्थात ४४ करोड रुपैयाँको सेयर सर्वसाधारणमा जारी हुने भएको छ । कम्पनी सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमतिको लागि पुगेको छ । कम्पनीले जारी गर्ने सेयर सहित चुक्ता पुँजी करिब ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको अध्यक्षमा सुरेन्द्र गोयल रहेका छन् । कम्पनीले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
कम्पनीले हाल क्षमता बिस्तारपछि दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल सेयर बजारमा युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु), हिमालयन डिष्टिलरी लगायतका उत्पादनमुलक कम्पनीको मात्रै सेयर कारोबार हुने गरेको छ ।
लामो अवधिसम्म कारोबार नभएको र लगानीकर्तासँग सम्पर्कमा नदेखिएको यसै समूहको श्रीराम सुगर मिल्स पनि एक वर्षअघि बजारमा नविकरण गरेर फर्किएको थियो । कम्पनीले हकप्रद जारी गर्ने तयारी गरेको छ ।