चैत २१, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले दुई नम्बर प्रदेशको सरकारले कर्मचारीको सहयोग नपाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले दुई नम्बर प्रदेशको विकासका लागि प्रदेश सरकारले योजना बनाए पनि कानुनको अस्पष्टता, केन्द्र सरकार र कर्मचारीको असहयोगका कारण प्रयास सफल हुन नसकेको बताए ।
केही पक्षहरुले संघीयताालाई असफल बनाउन भरपूर कोसिस गरिरहेको आरोप लगाउँदै यादवले कर्मचारीतन्त्र र नीतिनिर्माण तहले असहयोग गरेको दाबी गरे ।
“दुई नम्बर प्रदेशको सरकारले जुन प्रकारले कर्मचारीले सहयोग गर्नुपर्ने हो, त्यो सहयोग प्राप्त गरेको छैन । संघीयतालाई जुन उत्साहका साथ अगाडि बढाउनुपर्ने हो, त्यो वातावरण बनेको छैन ।” यादवले भने ।
आफूहरुले उठाएका एजेण्डामा सरकार सहमत भएमा मात्रै सरकारमा सहभागि हुने यादवले बताए ।