प्राध्यापक लोकराज बराल : प्रधानमन्त्रीले सधैं समृद्धिको विषय उठाउनु भएको छ । भन्ने गरेको सुनिन्छ । समृद्धि चाहिँ कसरी होला ? यसमा कुनै स्पष्ट कार्यनीति देखिँदैन । यहाँ कुरा धेरै भयो । कहिलेसम्म समृद्धिको कुरा भइरहने हो ? काम कहिलेदेखि थाल्ने हो ? नेपालभरि धुलो उडेको उडैछ । बाटाघाटा भत्केका छन् बनाउने तर्फ कसैको ध्यान छैन । खानेपानीको समस्या त्यत्तिकै छ, प्रदूषणले गर्दा जनताको स्वास्थ्य बिग्रेको छ । सहरबजारको हालत यस्तो छ । गाउँघरको समस्या उत्तिकै गम्भीर छ । त्यसकारण जवसम्म काम गरेर देखाउँदैनन् तबसम्म कुराको भरमा विश्वास गर्न सकिँदैन ।
निर्देशनको भरमा मुलुक चल्दैन त्योअनुसारको तल्लो तहसम्मका जनताले बुझ्नुप¥यो । कर्मचारीले बुझ्नुप¥यो । सरकारले तल्लो तहसम्मका जनताले अनुभूति गर्ने गरी काम गरेर नदेखाएसम्म खाली हल्ला मात्र गरेर कसैले विश्वास गर्नेवाला छैन । सरकारले के नतिजा देला सबैको चासो छ । त्यसका लागि ५–६ महिना त पर्खनुपर्छ । अब ओलीजीको शासन हेर्न बाँकी नै छ । चुनावी नारा एउटा, चुनाव जितिसकेपछि अर्को गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । लोकप्रियता भन्ने कुरा सधैं रहँदैन, राम्रो काम गरे जनताले सधैं सम्झने कुरा हो । यी नारा त अलिदिन आउँछन् जान्छन्, त्यो रहिरहने होइन । चुनावका बेला त सबै राम्रा कुरा गर्छन् तर त्यसलाई व्यवहारमा उतारेर देखाउन सक्नुपर्छ ।
देश विकासका लागि विदेशीसँगको सम्बन्धमा सुझबुझ देखाउनुपर्छ । भारतसँग सहयोगात्मक सम्बन्ध हुनुपर्छ । राष्ट्रवादको नाममा धेरै उत्ताउलो भएर मुठभेडको कुरा गर्नु हुँदैन । भारतसँगको परराष्ट्र नीति सन्तुलित हुनुपर्छ । सम्बन्ध राम्रो बनाएर मित्रभावले अगाडि बढ्नुपर्छ । नेपालले भारतसँग लाभ लिन सकेको छैन भन्दा यति धेरै सन्धिसम्झौताहरू भएका छन्, प्रोजेक्टहरू आएका छन् तर त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।
१२ वर्षदेखि हुने भनिएको काम भएको छैन, त्यो किन भएन ? भारतसँग पनि भन्नुप¥यो । अब कार्यशैलीमा सुधार गर्नुपर्छ । चीनसँग पनि भारतजस्तै सम्बन्ध हुनुपर्छ । चीन पनि हाम्रो मित्रराष्ट्र हो । चीनसँग पनि सौहार्दपूर्ण वातावरणमा सम्बन्ध राख्नुपर्छ । भारतसँग जस्तो सम्बन्ध छ, हाम्रो चीनसँग पनि त्यस्तै हुनुपर्छ । यी दुईको सम्बन्धलाई तुलना गर्न मिल्दैन । हिजो जस्तो सम्बन्ध थियो त्यस्तै हुनुपर्छ । नेपालमा विकास हुनलाई भारत र चीन दुवैसँग राम्रो सम्बन्ध हुनुपर्छ । दुई देशबीच कूटनीतिक सम्बन्ध कस्तो हुनेछ हेर्न बाँकी नै छ । अहिलेसम्म ठीकै देखिन्छ । अन्त्यमाः रिपोर्टर्स क्लब नेपालले देश र जनताबीच राम्रो राम्रो काम गरेर देखाओस् रिपोर्टर्स क्लबलाई त्यही शुभकामना छ ।
(यो लेख रिपोर्टर्स क्लब नेपालद्धारा प्रकाशित विशेष स्मारिका “अब समृद्धिको पाइला ” बाट साभार गरिएको हो । )