Logo

व्यावसायिक तालीमलाई प्रदेशको आवश्यकतानुरुप विस्तार गरिने



काठमाडौँ, २६ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताका आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताउनुभएको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीलाई कसरी प्रभावकारी बनाउने भन्ने छलफलमा उहाँले आन्तरिक रोजगारीको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक र सीपमूलक तालीम कार्यक्रमलाई प्रदेशको आवश्यकतानुरुप विस्तार गर्न प्राथमिकता दिइने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले श्रमको सम्मान गर्ने पद्धतिको विकास, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा मन्त्रालय ठोस रणनीतिका साथ अघि बढ्ने जानकारी दिनुभयो ।

प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध विभागीय प्रमुख तथा कर्मचारीको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेशमन्त्रीले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगीकार गर्न विभिन्न विषयलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्