Logo

खर्च अनियमितताबारे निर्वाचन अयोग र महालेखापरिक्षकबिच आरोप–प्रत्यारोप



चैत ३०, काठमाण्डौ । सरकारी आय–व्ययको अडिट गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि केही सरकारी निकायले गरेको आर्थिक अनियमितता सार्वजनिक भएको छ ।

आर्थिक अनियमितता भएको भन्दै सबैभन्दा बढि निर्वाचन आयोग विवादमा परेको छ ।

यस वर्ष सबै तहको निर्वाचन सम्पन्न गरेर स्याबासी पाएको निर्वाचन आयोगले निर्वाचनको नाममा आर्थिक अनियमितता गरेको खुलासा प्रतिवेदनले गरेको छ ।

तर निर्वाचन आयोगका आयुक्त ईश्वरी पौडेलले भने प्रारम्भिक प्रतिवेदनका आधारमा जथाभावी आरोप नलागाउन आग्रह गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले महालेखा परिक्षकको प्रतिवेदन राम्रोसँग पढेपछि मात्रै विश्लेषण गर्नुपर्ने बताए ।

“अहिले त मलाई के लाग्यो भने कागले कान लग्यो भनेर कागको पछिपछि दौडिनेको संख्या संचारजगतमा बढेको छ ।” पौडेलले भने ।

प्रतिवेदनले निर्वाचन आयोगमा अनियमितता भएको वा भ्रष्टाचार भएको भनेर कतै पनि उल्लेख नगरिएको उनको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पनि आरोपको खण्डन गरेका छन् । नियतबस कुनै पनि अनियमितिता नगरेको दाबी यादवको छ ।

सबै काम नियमअनुसार मितव्ययी तरिकाले गरेको उनको दाबी छ । निर्वाचनका बेला सबैले देखेजस्तो सहज रुपमा सिमित स्रोत साधनले काम गर्न सकिने अवस्था नरहेको उनले बताए ।

यता महालेखापरीक्षक टंकमणि शर्माले भने निर्वाचन आयोगलाई नै प्रतिवेदन राम्रोसँग अध्ययन गरेर मात्रै टिप्पणी गर्न आग्रह गरेका छन् ।

महालेखापरीक्षकको प्रतिवेदनमाथि जथाभावी टिप्पणी नगर्न चेतवानी दिदै शर्माले भने,‘निर्वाचन आयोगले हाम्रो प्रतिवेदनमाथि विस्तृत अध्ययन गरेरमात्रै टिप्प्णी गर्दा उपर्युक्त हुन्छ, अहिले नै यसरी टिप्पणी गर्नु उहाँहरुको लागि पनि अप्ठ्यारो पर्न सक्छ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा महालेखापरीक्षक शर्माले निर्वाचन आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएर आफूहरुले प्रतिवेदनमा नै उल्लेख गरिसकेको स्पष्ट पारे ।

यद्धपी निर्वाचनकै बेला आयोगका कामकारबाही र पारदर्शीताको विषयमा विभिन्न माध्यममा टिकाटिप्पणी भएपछि आयोगमाथि आफ्नो पनि व्यक्तिगत रुपमा चासो रहेको सुनाए ।

शर्माले थपे,‘निर्वाचन आयोगको बारेमा गम्भिर रुपमा हामीले लेखापरीक्षण गर्यौं, हिसाबकिताब पारदर्शी राख्नको लागि म आँफैपनि आयोगमा पुगेर ध्यानाकार्षण गराएको थिएँ, त्यसैले आयोगको बारेमा हाम्रो प्रतिवेदनमा उल्लेखित विषयमा आयोगकै पदाधिकारीहरुले चूनौति दिएको कुरा ऋषिजीले सुनाउनुभयो, उहाँले त्यस्तो नभन्नुपर्ने हो, प्रारम्भिक रिपोर्ट हेरेरमात्रै यस्तो भन्नुभएको हो भने म उहाँलाई विस्तृत रिपोर्ट अध्ययन गर्न अनुरोध गर्छु।’



प्रतिक्रिया दिनुहोस्