असार २३, काठमाण्डौ । बारा प्रष्टोका गाविस हाल प्रसौनी गाउँपालिका वडा. नं ६ का ६२ वर्षीय समसुदिन अंसारी अरुको दुःख सुखमा साथ दिने समाजसेवी थिए ।
उनको सहयोगले धेरैले जीवनमा सहजता अनुभव गरेका छन् । आफूसँग भएको ३ कठ्ठा खेतियोग्य जमिन, ८ धुर घडेरीसमेत न्यू मदिना मस्जिदलाई दान गरेका अंसारी अहिले आँफै सहयोग माग्न बाध्य छन् ।
अंसारीले गाउँमा अन्य भौतिक विकासका लागि कति योगदान गरे भन्ने कुराको त कुनै लेखाजोखा नै छैन । उनै अंसारी अहिले जीवन मरणको दोसाँधमा छन् । नसाको रोगले मृत्युसँग लडिरहेका अंसारीको बाँसबारीस्थित हारमोनी होम केयर अस्पतालमा उपचाररत छन् । तर उनको रोग निको पार्न आवश्यक उपचारका लागि आर्थिक अभाव भएको छ ।
विगतमा आफ्नो गाउँ ठाउँलाई तन, मन र धन सुम्पिएका अंसारी अहिले भने एक्लो बनेका छन् । आफ्नै गाउँका दाजुभाइ दिदीबहिनीलेसमेत वेवास्ता गर्दा उनी दुखी भएको अंसारीका घनिष्ठ मित्र रामाश्रयप्रसाद यादवले बताए ।
अंसारीको सहयोगका लागि साथीको नाताले आफू सहयोग जुटाउन लागिपरेको यादवले बताए ।
मुस्लिम र हिन्दु समुदायबीच आपसि सद्भाव कायम गर्नका लागि कसैको मन नदुखाइकन सर्वश्व सुम्पिएका उनै अंसारीलाई परेको अहिलेको पीडा कम गराउने भने कसैले पनि चासो दिएका छैनन् ।
ढाडको नासा र दुवै खुट्टाको नसा सुकेर हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका अंसारी अस्पतालको शैयामा सहयोगको आशामा छटपटाइरहेका छन् । उपचारका लागि आफूसँग पैसा नहुँदा उनीलाई आर्थिक सहयोगको खाँचो परेको हो ।
विभिन्न अस्पतालमा रोग निको हुने आशामा उपचार गराइसकेका अंसारीले अहिलेसम्म आफूसँग भएको ११ लाख रुपैयाँ सकिसकेका छन् । त्यसैगरी अहिलेसम्म उनको उपचारका लागि साथीभाइ र इष्टमित्रले दिएको पाँच लाख रुपैयाँ पनि उपचारमा खर्च भइसकेको छ ।
तर उनको रोग निको पार्नका लागि अझै पैसाको खाँचो भएकाले उनले सहयोगको अपिल गरेका हुन् ।
अहिले उपचार भइरहेको अस्पताल हारमोनीमासमेत ३ लाख रुपैयाँभन्दा बढि ऋण लागिसकेको छ ।
अंसारीले बारा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधीसभाका सांसदहरु उमाकान्त चौधरी, रामसहाय यादव, रामबाबु कुमरा यादव र एकवाल मियाँको ध्यानाकर्षण गराएका छन् ।
त्यसैगरी प्रदेशसभाका पारस शाह, जितेन्द्र सोनललगायतका सांसदहरुसँग पनि उनले सहयोगको अपेक्षा गरेको बताए ।
अंसारीको परिवारमा पनि कोही नभएकाले उनलाई सहयोगको खाँचो परेको हो । अहिलेसम्म उपचारमा भएको खर्च दान दिएर बाँकी रहेको जग्गा जमिन धितो राखेर जुटाएको अंसारीले बताए ।
उनीहरुबाट अन्सारीले सहयोगको अपेक्षासमेत गरेको बताए ।
अब आफ्नो तर्फबाट कुनै पनि उपाय नभएकाले सहयोग माग्नुको विकल्प नभएको उनको भनाई छ ।
सहयोग आउने आशामा उनले राष्ट्रिय वाणिज्य बैँकमा खातासमेत खोलेका छन् । सहयोग गर्न चाहनेले उक्त खातामा रकम जम्मा गरिदिनका लागि अंसारीले विन्ति गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैँकमा खोलिएको खाता नम्बर ११५००४१९३७१० रहेको छ । “यस खाता नम्बरमा मेरो उपचारका लागि जसले जति सक्नुहुन्छ त्यति सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।” अंसारीले भने ।