Logo

गोविन्द केसी बचाउन सरकारविरुद्ध अन्तिम हतियार प्रयोग गर्छौं : अध्यक्ष श्रेष्ठ



काठमाडौं, २३ असार । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले सरकारले दुई तिहाईको दम्भ देखाएर पेलेरै लैजाने सोचेको भए त्यो गलत हुने भन्दै अनशनरत डाक्टर गोविन्द केसीका माँगप्रति राज्य संवेदनशील हुनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले अनशनरत डाक्टर गोविन्द केसीलाई बचाउनको लागि सरकारविरुद्ध अन्तिम हतियार प्रयोग गर्ने चेतावनी समेत दिए । डाक्टर केसीसँग वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा कसले सम्झौता गरेन त भन्दै उनले प्रश्न समेत तेर्साए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले डाक्टर केसी अनशन बसेको आज ८ दिन बित्दापनि सरकारका मन्त्रीहरु संवेदनशील बन्नुको सट्टा उनीहरुले उच्छृङखल अभिव्यक्ति दिएको आरोप लगाए । उनले भने,‘हामीले अहिले मुखले भन्छौं, यदि मुखले भन्दापनि भएन भने हामी हाम्रा हतियारहरु प्रयोग गर्छौं, यदि त्यसलेपनि भएन भने अन्तिम हतियार प्रयोग गर्छौं।’

डाक्टर केसीले १५ औ पटक अनशन बस्नुपर्ने अवस्था आउनु नै दुःखद् भएको टिप्पणी गरे । उनले भने,‘उहाँ अहिले १५ औं अनशनमा हुनुहुन्छ, यो अवस्था आउन दिनु नै दुर्भाग्य हो।’ सरकार र यसको नेतृत्वमा बसेका नेताहरुको असक्षमताका कारण आज यस्तो अवस्था आएको उनको आरोप छ ।

यो पनि पढ्नुहोस

गोविन्द केसीमाथि सुन्दरमणि दीक्षितको आरोप–आफूचाँही जुन बेला पनि सुतेर मात्रै बस्ने ?

गोविन्द केसीसँग गरेका सम्झौता पालना गर्नका लागि सरकार नैतिकवान हुनुपर्छ : कर्ण

गोविन्द केसीका धेरै माग पूरा भैसकेका छन, बाँकी पनि पुरा गर्नुपर्छ : पूर्व सचिव श्रेष्ठ

अध्यक्ष श्रेष्ठले भने,‘सरकारमा बसेका खासगरी लिडरले समस्याको निक्र्यौल सही ढंगले गर्न नसक्दा आज यो अवस्था आएको हो, यो अत्यन्तै दुःखदायी कुरा हो, आज डाक्टर केसी जुम्लामा गएर अनशन बस्नु परेको छ, उहाँले स्वास्थ्य सेवा सबै जिल्लामा बराबरी पुर्याउनुपर्छ भन्नुभएको हो, यो के गलत माँग हो र ?’

डाक्टर केसी नेपाल चिकित्सक संघको आजिवन सदस्य भएको उल्लेख गर्दै उनले भने,‘हामीलाई थाहै नदिई उहाँ कतिचोटी अनशन बस्नुभएको छ, तर हामी उहाँलाई मर्न दिन्नौं, पेशागत हकहितको लागि हामी एक ढिक्का भएर उभिन्छौं।’

डाक्टर केसीले राखेका स्वास्थ्यसम्बन्धी र आफ्नो संगठनको दायराभित्र पर्ने सबैखाले माँग र विषयहरुप्रति आफूहरुको सहमति रहेको पनि उनले विश्वास दिलाए । यद्धपी उनले केसीले यसअघि उठाएका राजनीतिक माँगहरुप्रति आफूहरुको कुनै सहमति नरहेको जिकिर गरे ।

डाक्टर केसी अहिले १५ औं अनशनमा बस्दै गर्दा सरकारका विभागीय जिम्मेवारीमा रहेका मन्त्रीहरुले प्रयोग गर्ने शब्द अत्यन्तै चिन्ताजनक रहेकोले प्रधानमन्त्रीले मन्त्रीलाई नै लगाम लगाउनुपर्ने बेला आएको उनको भनाई छ ।

उनले भने,‘अरे बाबा, डाक्टर केसीले त कम्युनिष्टहरुले उठाउँदै आएका माँगहरु उठाउनुभएको छ, त्यसैले सरकारले उहाँको जीवन रक्षाको लागि यथाशक्य वार्ता गर्नुपर्छ, यसको लागि एउटा समिति बनाउनुपर्छ, हामीलाईपनि मध्यस्थकर्ताको रुपमा राख्दा हामी त्यो भूमिका निर्वाह गर्न हरदम तयार छौं।’

श्रेष्ठले हिजो विगतमा डाक्टर केसीसँग सरकारहरुले गरेका सबैखाले सहमतिहरु अब कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘हिजो बनेका सहमति र दस्तावेजहरु अब कार्यान्वय गर्नुपर्छ, ती सबै सहमतिहरु कार्यान्वयन गराउनको लागि सरकारले तत्काल प्रतिबद्धता जनाउनुपर्छ, मन्त्रीहरुले द्धेद्ध चरित्र देखाए।’



प्रतिक्रिया दिनुहोस्