काठमाडौं, २५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न देशमा रहेका नेपालीहरुलाई बनाईएको पर्यटन दुतहरु अब खारेज गर्ने बताएका छन् ।
सोमबार साँझ प्राईम टाईम्स् टेलिभिजनमा पत्रकार ऋषि धमलासँग जनता जान्न चाहँन्छन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,”कामै नलाग्ने दुत बनाएरपनि हुन्छ त, ती सबै खारेज हुन्छन् ।” समय समाप्त भएपनि रिप्लेस गर्नेपनि उनले जनाए । त्यस्तै उनले राजदुत पनि चाँडै हुने जनाए । उनले भने, “राजदुत नियुक्तीको लागि नयाँ मापदण्ड बनाईसकिएको छ, अब चाँडै नियुक्ती हुन्छ।”
मन्त्री अधिकारीले काभ्रेको नाघी डाँडा वरपर आन्तरिक विमानस्थल बनाउने बताएका छन् । उनले भने, “हामी तीन वर्षभित्र यो विमानस्थलको निर्माण सम्पन्न गराउँछौं ।”
पोखरा अन्र्तराष्टिय विमानस्थल बनाउन कुनै गाहो नरहेको पनि उनले जनाए । १८० सिटसम्मका जहाज आउने र त्यतिकै क्षमताको विमान आउँदा हुने उनको भनाई छ । “मझौला जहाजहरुको लागि विमानस्थल बनाउने हो”, उनले भने,”भारत, चीन लगायतका दक्षिण एशियाका देशहरुकोलागि धेरै फोकस बनाउनुपर्छ । अन्र्तराष्टिय विमानस्थल बनाउन कुनै खतरा छैन ।”
२० लाख पर्यटकहरु ल्याउनको लागि १७ देखि १८ लाखको होटेलको क्षमता हामीसँग छ । अरु जहाज आएका छन् । भारत र चीनबाट जहाज आउने अवस्था बनेपछि, अरु एयरलायन्स आउँछन् ।
वाईड बडी खरिद प्रक्रिया अघि देखि नै अघि बढेको हो । आज त जहाज आएको हो । आएको जहाज त चलाउनुपर्यो नि । पैसा गैसक्यो, अब चलाउनुपर्छ । हामीलाई जहाज चाहिएको हो । खरिद प्रक्रिया मेरो अनुशन्धानको विषय हो, मैले रोक्ने कुरा र छेक्ने कुरा आउँदैन् ।
खरिद प्रक्रियामा अनियमितता भएको छ कि छैन भन्ने कुरा मन्त्रालयले अध्ययन गर्ने उनको भनाई छ । “जहाज चल्छ, तर अनियमितता भएको छ कि छैन भन्ने कुरा अध्ययन हुन्छ ।”-उनले भने ।
फरक प्रसँगमा उनले प्रदेश प्रमुखहरुलाई फिर्ता बोलाउने कुनै आधिकारिक निर्णय नभएको पनि जनाए ।