काठमाडौं २७ असार । नौ वर्षदेखि कुवेतमा रहेकी ३१ वर्षीया सुनकेशरी गुरुङले मातृभाषा नै बिर्सिन् । तर, उनको परिवारले उनलाई बिर्सिएको थिएन । कुवेत गएदेखि नै परिवारको सम्पर्कमा नरहेकी सुनकेशरी सोमबार बिहान त्रिभुवन विमानस्थलमा आफूलाई लिन आइपुगेका दाजुभाइको आमुन्नेसामुन्ने भइन्, उनले पुरानो लवजमा बोल्न सकिनन् ।
बिस्तारै आफ्नो भाषा र शब्द बिर्सिंदै गएकी उनले बोलेका सबै शब्द अरबी भाषाका थिए ।
तर दाजु खेम र भाइ वीरकाजीलाई सुनकेशरीका शब्दसँग मतलब थिएन । मतलब थियो त बेपत्ता बहिनीलाई जिउँदो भेट्नुसँग । ‘हामीले उनलाई धेरै खोज्यौं, फेला पार्न नसकेपछि माया मारिसकेका थियौं,’ वीरकाजीले भने, ‘एकैपटक गोरखाका प्रमुख जिल्ला अधिकारीले फोन गरेपछि पो अचम्ममा पर्यौं ।’
उहिया–८, गोरखाकी सुनकेशरी २००९ को मार्चमा कुवेत गएकी थिइन् । कुवेत गएदेखि नै परिवारसँग उनको सम्पर्क टुटेको थियो । कुवेती साहुले पनि परिवारसँग कहिल्यै सम्पर्क गर्न दिएका थिएनन् । ‘मलाई घर फर्किन मन थियो, बुबा–आमासँग कुरा गर्न ठूलो मन थियो,’ सुनकेशरीले भनिन्, ‘तर मालिकले कहिल्यै फोन गर्न दिएन ।’
कुवेतमा रहेका अन्य नेपालीसँग पनि उनको सम्पर्क हुन सकेन । राहदानी म्याद सकिएर नवीकरण गर्न कुवेती साहु आएपछि मात्रै सुनकेशरीबारे दूतावासले जानकारी पाएको थियो ।
‘कुवेती साहु राहदानी बनाउन दूतावास आएका थिए, त्यतिखेर सुनकेशरी ९ वर्षसम्म नेपाल नगएको थाहा भयो,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरसँग भने, ‘सुरुमा त कुवेती साहु सुनकेशरीलाई पठाउन तयार थिएनन् । दूतावासले निकै सम्झाएपछि मात्रै पठाउन सहमतिमा आए ।’
दूतावासको पहलमा सुनकेशरीको ९ वर्ष चार महिनाको एकमुष्ट तलब ७ हजार एक सय २० दिनार (झन्डै २५ लाख ७० हजार रुपैयाँ) दिन पनि कुवेती साहु राजी भए । ‘सुनकेशरीको तलब हामीले राखेका छौं, नेपाल पुगेर बैंक खाता दिएपछि उनको नाममा पठाइदिनेछौं,’ हमालले भने ।
जिल्ला प्रशासन कार्यालय गोरखाको पहलमा सुनकेशरीलाई परिवारसँग पुनर्मिलन गराउन सफल भएको बताए । ‘हामीलाई परिवारको सम्पर्क पत्ता लगाउन निकै गाह्रो भएको थियो,’ उनले भने । सुनकेशरीले दाजुभाइ देख्दा निकै खुसी भएको बताइन् ।
‘परिवारलाई देखेपछि मैले कुवेतमा पाएका दु:ख बिर्सिएको छु,’ उनले अरबी शब्दको सहारामा भनिन्, ‘मलाई कुवेत सम्झिन पनि मन छैन, आफ्नो गाउँ आइपुगें । गाउँ फर्कने सपना पूरा भयो । दूतावाससँग एकदमै खुसी छु ।’ कान्तिपुरबाट