काठमाडौं, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजिनामा माग्न आफूहरु बाध्य हुने चेतावनी दिएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने,‘वर्तमान सरकारको सय दिन हामीले हेरयौं, यो बीचमा सरकारका सबै तौल र तरिका पनि हेर्यौं, नीति तथा कार्यक्रमको हामीले ताली पिट्यौं तर सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो यो समर्थनलाई कमजोर ठान्नुभयो, प्रधामन्त्रीले दुई तिहाईको दम्भ देखाउनुभयो, त्यसैले सरकारकै कारण हामी आज सडक र सदन दुवै ठाउँमा संघर्षमा उत्रिन बाध्य भएका छौं।’
नेता पौडेलले वर्तमान प्रधानमन्त्री ओली संविधानको कमापनि परिवर्तन गर्न हुँदैन भन्ने व्यक्ति भएकोले र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यो संविधानको पूर्नर्लेखन गर्नुपर्छ भन्ने व्यक्ति भएकोले उनीहरु किन मिले ? भनेर सोध्न पाईने कि नपाईने भन्दै प्रश्न समेत तेर्साए । उनले थपे,‘केपी ओली र उपेन्द्र यादव किन मिल्नुभयो ? यो विषय पारदर्शी हुनुपर्छ।’
वर्तमान सरकारले विश्वविद्यालयका उपकुलपतिलाई विमानस्थलबाट कब्जा गरेर थुनेको, आफू अनुकुल रिपोर्ट बनाउनको लागि अस्पतालबाट डाक्टरलाई अपरहण गरेको, पत्रकारको प्रश्नको सामाना गर्न नसक्दा टेलिभिजन कार्यक्रम नै बन्द गराएको, सिण्डिकेट अन्त्यको हल्ला चलाएपनि विभागका महानिर्देशक हटाएको, गलत गर्ने ठेकेदारलाई कारबाही नगरेको, महँगीले आकाश छोएको लगायत जनजिविकाका थुप्रै मुद्दामा वर्तमान सरकार मौन रहेको उनको गुनासो छ ।
उनले थपे,‘त्यतिमात्रै होईन, माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्यो, डाक्टर गोविन्द अहिले १५ औं अनशनमा हुनुहुन्छ, उहाँका माग सम्बोधन गर्न सरकार गम्भिर देखिएन, माथेमा आयोगको प्रतिवेदन अनुसार अध्यादेश ल्याउने सहमति भएको थियो, तर सरकारले त्यसलाई तोडमोड गरेर विद्येयक ल्याउन खोजेको छ, यस्तो अवस्थामा अब यो सरकारलाई समर्थन गरिराख्नुको कुनै अर्थ छैन, र त्यस्तो अवस्थापनि अब रहेन।’
सभामुख र उपसभामुख एउटै दलबाट बन्नु संविधान विपरित भएको भन्दै उक्त कदम तुरुन्त सच्याउनुपर्ने उनको जोड थियो । ‘हामीलाई सरकारको कब्जाको रणनीति मान्य छैन’–उनले भने,‘सरकारको एउटा निर्णयले आज हजारौंका संख्यामा असर परेको छ, अघिल्लो सरकारले नियुक्ती गरेका सबै कुरा खारेज गर्ने कुराले के देखाउँछ भने सरकारमा दुई तिहाईको दम्भ बढि भयो।’
दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरुलाई कुनै हालतमा पनि स्विकार्य नरहेको उनको भनाई छ । उनले भने,‘सरकारले सुशासन र समृद्धिको लागि अब पनि काम गर्न नसके, यसको अपजस सबै सरकार र यसको नेतृत्व गरेका व्यक्तिलाई जान्छ।’
प्रधानमन्त्री ओली आफूहरुको पनि प्रधानमन्त्री भएको बताउँदै उनले भने,‘उहाँ त हाम्रो पनि प्रधानमन्त्री हो नि, तर उहाँ निरन्तर हामीलाई गाली गर्नुहुन्छ, प्रधानमन्त्रीले आफ्ना चाल, प्रस्तुति र व्यवहारहरु बदल्न जरुरी छ, सरकारले आफ्ना प्राथमिकताहरु बदल्न जरुरी छ।’
वर्तमान प्रधानमन्त्रीजतिको बलियो प्रधानमन्त्री नेपालमा अहिलेसम्म कहिल्यैपनि नभएको उल्लेख गर्दै नेता पौडेलले भने,‘अहिलेको सरकार ईतिहाँसकै सबैभन्दा बलियो सरकार हो।’ आफूहरुको अबको कदम भनेको सरकारलाई सचेत बनाउन केन्द्रित रहने उनको जिकिर । यद्धपी उनले जनताको अधिकार र स्वतन्त्रतामाथि धावा बोल्ने कहीँ कतैबाटपनि हुन नहुने बताए ।
संघीयता कार्यान्वयन गर्नतर्फ वर्तमान सरकार त्यति उत्साहित नरहेको उनको आरोप छ । उनले भने,‘सरकारले विकेन्द्रिकरण स्विकार गरेको छैन, कर्मचारीहरु संघीयताको पक्षमा छैनन्, देशका प्राज्ञिक व्यक्तित्वहरुलाई बेईज्जत गराउने काम यो सरकारले गरेको छ।’ सरकारलाई आफ्नो कार्यसम्पादन सच्याउन कांग्रेसको आग्रह रहेको उनले बताए ।
लोकतन्त्रमा संस्था बलियो बनाउनुपर्ने बताउँदै उनले भने,‘तर अहिले प्रधानमन्त्रीको गतिवधि र चाला हेर्दा उहाँ व्यक्ति बलियो बन्नतर्फ केन्द्रित हुनुहुन्छ, उदाहरणको लागि राष्ट्रिय अनुशन्धान विभागलाई आफू केन्द्रित गर्नुभयो, राजश्व अनुशन्धान विभाग उहाँलाई किन चाहियो ? त्यस्तै सम्पत्ति शुद्धिकरण आफू माताहतमा राखेर तर्साउन खोज्दैहुनुहुन्छ, शक्ति आफूकेन्द्रित गरेर मनपरी गर्न पाईदैन्, सरकारलाई सच्चिनको लागि आग्रह छ।’