साउन ३, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गलत काम गर्दै अधिनायवादी बन्न खोजेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै झाले सबै क्षेत्रमा सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए ।
देशको अवस्था चिन्ताजनक भएको झाले बताएका छन् । “एकातिर डा. केसीको ज्यान खतरामा छ भने अर्कोतिर सरकारले एकपछि अर्को निर्णय गर्दै सर्वसत्तावादी बन्ने प्रयास गरिरहेको छ । यो राम्रो संकेत होइन ।”
सम्बन्धित समाचार :
रेशम चौधरी निर्दोष छन्, उनको माग पूरा नभएसम्म सरकारमा जाँदैनौँ : मनिष सुमन
रेशम चौधरीलाई जेलमुक्त गर्न प्रधानमन्त्री ओली सकारात्मक हुनुहुन्छ
चौधरीलाई पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने सर्वोच्चको ठहर
सरकारलाई रेशम चौधरीको चेतावनी, ‘हिम्मत छ भने कारबाही गर’
सरकारले गलत प्रयास गरे पनि त्यो सफल हुने खालको प्रयास नभएको झाले बताए । अघिल्लो सरकारले कानुनबमोजिम गरेका नियुक्ति खारेज गर्नु सरकारको गलत काम भएको झाको तर्क छ ।
“डाक्टरलाई अस्पतालबाट उठाउने, उपकुलपतिलाई विमानस्थलबाट उठाउनेजस्ता घृणित काम यो सरकारले गरेको छ ।” झाले भने ।
केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिए पनि अहिले भने त्यसबारे सोच्नुपर्ने बेला आएको झाले बताए ।
रेशम चौधरीलाई सासंदको प्रमाणपत्रसमेत नदिइएको भन्दै झाले आपत्ति जनाए ।
“बालकृष्ण ढुङ्गेललाई थुनामुक्त गर्ने सरकारले रेशम चौधरीलाई प्रमाणपत्र किन दिएन ?” उनले प्रश्न गरे ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा केही दिनभित्रमा नै निर्णय गरिने झाले बताए । सरकारको अहिलेको कार्यशैलीका कारण समर्थन फिर्ता लिनुपर्ने स्थिती आएको उनको भनाई छ ।
रेशम चौधरीको सवालमा कांग्रेस पनि अनुदार भएकाले तत्काल राजपा र कांग्रेस मिल्ने सम्भावना नरहेको झाले बताए ।
सरकारले गरेका गलत कार्यक्रमको विरोधका लागि भने कांग्रेससँग मिल्न सकिने झाले बताए ।