काठमाडौं, ३ साउन । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक क्रिकेट शृंखला र नेदरल्यान्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीको बुधबार बिदाइ गरिएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
पारस खड्काको कप्तानीम १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार लन्डन प्रस्थान गर्दैछ ।
क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा नेपालले यही साउन १३ गते स्थानीय मेरेलीबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक ट्वेन्टी–२० क्रिकेट शृंखला खेल्नेछ ।
त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा पहिलोपटक दुईओटा एक दिवसीय अन्तर्रा्ष्ट्रिय खेल खेल्नेछ । साउन १६ र १७ गते हुने उक्त खेल नेपालका लागि ऐतिहासिक हुनेछ ।
नेपाल र नेदरल्यान्ड्स दुवै टोलीले पाँच महिनाअघि एक दिवसीय क्रिकेट टोलीको मान्यता पाएपछि पहिलोपटक एक दिवसीय म्याच खेल्न लागेका हुन् ।