काठमाडौं ४ साउन । भोजपुरका राजु कार्कीले क्यारिबियन समुद्रमा पर्ने केमान टापुमा साइकल चलाउन थालेको १४ महिना बित्यो ।
त्यो साइकलमा केमानका गल्लीभित्र छिर्न बाँकी सायदै होला । उनको साइकलको आफ्नै कथा छ । एउटा नेपाली सुरक्षागार्डले आफू ड्युउटी जानआउन त्यो साइकल किनेका थिए । उनले गाडी किनेपछि जागिर खोज्दै हिंडेका अर्का नेपालीलाई दिए । भिसा अवधि सकिएका ती नेपाली प्रहरीको फन्दामा परेपछि फिर्ता पठाइए । त्यतिकै थन्किएर बसेको त्यो साइकल कार्कीले चलाउन पाए ।
‘यो देशमा मेरा लागि यही साइकल सहारा बनिरहेको छ । हरेक कम्पनीमा बायोडाटा हाल्न जाँदा यसले धेरै सहयोग गर्यो,’ उनले फोनमा भने, ‘अब योसँग पनि एक साताभन्दा बढी बिताउन पाइएला जस्तो छैन ।’ कार्कीको भिसाको अवधि जुलाई २२ सम्म मात्रै छ ।
उनी त्यहाँ अध्यागमनको तारेखमा धाइरहेका छन् । ‘जुलाई २२ पछि अध्यागमनले भिसा थपिदिन्छ कि जेल राखेर नेपाल पठाइदिन्छ, थाहा छैन,’ उनले भने, ‘जिन्दगी भगवान् भरोसामै चलिरहेको छ ।’
उनी ५ मे २०१७ मा त्यो टापुमा पुगेका थिए । ब्रिटिस उपनिवेशमा रहेको यो टापु पश्चिमी क्यारिबियन समुद्रमा पर्छ । यसको दक्षिणमा क्युबा, उत्तरपूर्वमा कोस्टारिका, उत्तरमा पनामा, पूर्वमा मेक्सिको र उत्तरपश्चिममा जमैका पर्छ ।
दलालले उनलाई ३ हजार डलर कमाउने लोभ देखाएर केमान पठाइदिएका थिए । ‘म काठमाडौंस्थित वल्र्डवाइड ट्राभलका सञ्चालक पृथ्वीबहादुर शाहीलाई १६ लाख रुपैयाँ बुझाएर आएको हुँ । उसको केमानमै रहेका नारायण भन्ने गिरबहादुर आले मगरसँग सम्पर्क रहेछ,’ उनले भने, ‘उसले भनेको ३ हजार डलरको काम त परै जाओस्, एक डलरको काम पनि पाइएको छैन ।’
यो १४ महिनामा काम नपाउँदा उनी निकै तनावमा छन् । कतै काम पाइन्छ कि भनेर अझै भौँतारिँदै हिंडिरहेका छन् । ‘मलाई तीन महिनाको भिसामा सीडीएन कम्पनीमा पठाएको थियो । त्यो सीडीएन कम्पनी कतै भेटिएन । हामीजस्ता केही सीप नभएकालाई जागिर पाइनै मुस्किल रहेछ । सबभन्दा तल्लो काम भनेको ट्वाइलेट सफाइ गर्ने हो । त्यो गर्छु भन्दा पनि पाइएन,’ उनले भने, ‘कहाँ ल्याएर फसाइदिए । फेद न टुप्पोको हालत झैं बनाइदिए ।’
उनीसँग टापु पुग्दा १५ सय डलर थियो । ‘त्यही पैसाले भिसा परिवर्तन गर्दै बसिरहे । साइकलमा आइल्यान्ड वारपार गर्न दुई घण्टा लाग्छ । देखेजति कम्पनीमा बायोडाटा हालेको थिएँ । काम दिन्छ कि भनेर बायोडाटा छोडदै हिँडेको कम्पनीमा हरेक साता पुग्छु,’ उनले भने, ‘ती कम्पनीमा कसैले सोर्स लगाइदिए मात्रै काम पाइँदोरहेछ । त्यस्तो सोर्स लगाइदिने हाम्रा लागि को छ र ?’
यो टापुमा नेपालीको संख्या मुस्किलले तीन सय पनि नाघेको छैन । म्यानपावर एजेन्सीले संस्थागत रूपमा कामदार पठाउने गरेको छैन । त्यहाँ काम गर्ने नेपालीले नै नेपालका ट्राभल एजेन्सी र आफन्तसँग मिलेर कामदार ल्याउने गरेका छन् ।
ओम थापा, गिरबहादुर आले, पूर्ण सुनुवार, नारायणी खत्री, वेनिसा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठलगायतले २० लाख रुपैयाँसम्म लिएर नेपाली ल्याउने काम गरिरहेका छन् ।
‘यहाँ जति आउँछन्, सबैले २० लाख रुपैयाँसम्म तिरेको भेटिन्छ । धेरैलाई मजस्तै अमेरिकी देशको एउटा टापु भनेर ल्याइएको हुन्छ । हजारौं डलर कमाउने लोभ देखाएको हुन्छ । काम नपाएर धेरैजसो फर्किसके । रित्तो हात फर्कन आँट ममा आएन,’ उनले भने, ‘उता घरपरिवार कसरी बाँचेको छ, सोध्न पनि आँट आएको छैन ।’
तीन महिनाको श्रम इजाजतका लागि ३ सय डलर तिरेपछि भिसा पाइन्छ । दलालले भने १५ लाखदेखि ३० लाख रुपैयाँसम्म रकम लिई ल्याउने गरेका छन् । कान्तिपुरबाट