Logo

विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न दिनुहुँदैन : प्रचण्ड



काठमाडौं, ७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गरेका छन्।

अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यक्ता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकताको महाअभियानमा सहभागी हुन विशेष अपिल गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाइरहेको भन्दै सचेत रहन पनि पार्टी भित्रको एकतालाई अझै सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए। अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीको षडयन्त्रलाई निष्तेज पार्न क्रान्तिकारी शक्तिहरु सधैं सचेत रहनुपर्नेमा पनि जोड दिए।

उनले मुलुकलाई समृद्ध बनाउने अभियान र कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई गहिरोसँग आत्मसात गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए। त्यस अवसरमा अध्यक्ष दाहालले पुष्पलाल श्रेष्ठको योगदानको पनि चर्चा गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस्